सप्तरी — जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिस्ट पार्टीहरूले देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेकाले देश असहज अवस्थामा पुगेको बताएका छन्।
शनिबार सप्तरीको रुपनी गाउँपालिका–३ हर्दियामा आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले २०४६ सालको जनआन्दोलनपछि बनेका अधिकांश सरकारमा कांग्रेस र कम्युनिस्ट दलहरू जिम्मेवार रहेको बताए। उनले ती दलहरूको असफलताकै कारण पछिल्लो समय युवा पुस्ता आन्दोलित भएको र देश संकटपूर्ण अवस्थामा पुगेको दाबी गरे।
अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य र उद्योग क्षेत्रलाई सुदृढ बनाउनुको साटो निजीकरण र पार्टीकरण गरिएको आरोप लगाउँदै त्यसले सरकारी संरचनाहरू कमजोर बनाएको बताए। सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदवारसमेत रहेका उनले चुनावका बेला गरिएका प्रतिबद्धता पूरा नगर्ने नेताहरूलाई जनताले निरन्तर प्रश्न गर्नुपर्ने बताए।
उनले मत माग्न आउने नेताहरूले बाटो, अस्पताल, विद्यालय, कलेज तथा सिँचाइको व्यवस्था गरिदिने जस्ता प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन किन भएन भन्ने प्रश्न उठाउन मतदातालाई आग्रह गरे। “जनताले नेतासँग प्रश्न सोधिरहे मात्र उनीहरू जिम्मेवार बन्न सक्छन्,” उनले भने।
देशमा परिवर्तन ल्याउन जनता समाजवादी पार्टीको महत्वपूर्ण भूमिका रहेको दाबी गर्दै अध्यक्ष यादवले आफ्नो तथा भावी पुस्ताको भविष्य सुरक्षित गर्न जसपाका उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउन आग्रह गरे।
सप्तरी क्षेत्र नम्बर २ बाट आफू निर्वाचित भएपछि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय, गजेन्द्रनारायण सिंह अस्पतालमा अत्याधुनिक पूर्वाधार निर्माण, इन्जिनियरिङ तथा नर्सिङ कलेज भवन निर्माण र पक्की सडक विस्तारजस्ता कामहरू सम्पन्न भएको तथा केही निर्माणाधीन रहेको उनले जानकारी दिए।


