Thursday, August 27, 2026
Homeकला/साहित्यकविता : शहिदको उजुरी

कविता : शहिदको उजुरी

धर्मराज र गंगालाल
दशरथ र शुक्रराज
बसेका छन् क्याबिनमा
र हाँकिरहेछन्
एक मालबाहक ट्रक
कुदिरहेछ गाडी
स्वतन्त्रताको राजमार्गमा
र, पुग्नु छ
स्वाधीन र सम्पन्न नेपाल ।

लखन थापा
ससम्मान बिराजमान छन्
विशेष आसनमा ।
बढ्दै जान्छ
शहिदको संख्या
जब राजमार्गहरुमा
हुन्छ राजनीतिक द्वन्द्व
शहिदको पोखरीमा
मिसाइन्छ धमिलो
अमिलो हुन्छ धर्मराजको मन

जब थपिन्छ विकृति राजनीतिमा
बनाइन्छ शहिदलाई उद्योग
र, व्यापार गरिन्छ शहिदको
बेचिन्छन् र किनिन्छन् शहिदहरु
देखिन थाल्छ आर्कषण
बढ्न थाल्छ शहिदको मूल्य ।

जब मारिन थाल्छन् आफ्ना मान्छे
चल्छ भागबन्डा दलहरुको
पाउन शहिदको एक कोटा
हालिन्छन् आआफ्ना मान्छे
मेरो पार्टीका मान्छे
उसका जातका मान्छे
उनीहरुका प्रदेशको मान्छे
उनीहरुका समर्थक
उनीहरुका सहयोगी
अपराधी, हत्यारा, बलात्कारी
आदि इत्यादि ।
र, हुलिन्छन् ट्रकको डिब्बामा ।

हिजो गंगालाललाई मार्नेहरु
आज आफै शहिद भएर
एउटै ट्रकको डिब्बामा
कोचिएका छन् संगै ।

त्यसैले त, भनिरहेछन् शुक्रराज
दिदैछन् उजुरी
खारेज गरिदेऊ मेरो
शहिदको उपमा
र बाँच्न देउ मलाई
असल नागरिकको रूपमा ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका