Thursday, October 29, 2026
Homeराजनीतिकञ्चनपुर–१ मा पुराना अनुहारलाई युवाको चुनौती, विकास र सुशासन मुख्य एजेन्डा

कञ्चनपुर–१ मा पुराना अनुहारलाई युवाको चुनौती, विकास र सुशासन मुख्य एजेन्डा

दोधारा चाँदनी (कञ्चनपुर) । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा चुनावी गतिविधि तीव्र बनेको छ। उम्मेदवारहरूले घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्।

यस क्षेत्रमा लामो समयदेखि चुनाव लड्दै आएका पुराना उम्मेदवारसँगै यसपटक नयाँ अनुहारले कडा चुनौती दिएका छन्। पुराना उम्मेदवारले अघिल्लो कार्यकालका उपलब्धि प्रस्तुत गरिरहेका छन् भने नयाँ उम्मेदवारले परिवर्तन, सुशासन र युवा नेतृत्वलाई मुख्य एजेन्डा बनाएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पूर्वमन्त्री तारा लामा तामाङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट पूर्वमन्त्री बीना मगर चुनावी मैदानमा छन्। नेपाली कांग्रेसले युवा नेता गोपीप्रसाद उपाध्यायलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट जनक धामी प्रतिस्पर्धामा छन्। उपाध्याय र धामी पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्।

यस क्षेत्रको चुनावी इतिहास हेर्दा नेपाली कांग्रेस तीन पटक विजयी भएको छ भने एमाले र माओवादी केन्द्रले दुई–दुई पटक जित हात पारेका छन्। यसपटक दलहरूका लागि आफ्नो प्रभाव कायम राख्नु चुनौतीपूर्ण देखिएको छ।

नेपाली कांग्रेसका क्षेत्रीय कार्यवाहक सभापति चेतन राईले पार्टीले युवा नेतृत्वलाई अघि सारेर पुरानो विरासत फर्काउने लक्ष्य लिएको बताए। उनले उम्मेदवारलाई मतदाताबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको दाबी गरे।

एमाले उम्मेदवार तामाङले आफूले मन्त्री र सांसदका रूपमा गरेका विकास निर्माणका कामका आधारमा पुनः विजयी हुने विश्वास व्यक्त गरिन्। नेकपाबाट उम्मेदवार बनेकी मगरले पनि विगतका अधुरा योजना पूरा गर्ने प्रतिबद्धता जनाएकी छन्।

रास्वपाका उम्मेदवार धामीले आफू जनताको सेवकका रूपमा काम गर्ने बताउँदै मतदातालाई परिवर्तनको पक्षमा उभिन आग्रह गरेका छन्।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ अन्तर्गत बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिका पर्छन्। यस क्षेत्रमा एक लाख एक हजार ७२४ मतदाता रहेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका