खोटाङ, ३१ जेठ: हलेसी तुवाचुङ नगरपालिकाले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको बिस्कुट उत्पादन, ब्राण्डिङ र प्याकेजिङसम्बन्धी सात दिने तालिम सम्पन्न गरेको छ। नगरपालिकाको रैथाने बाली ‘कोदो’लाई प्रवर्द्धन गर्दै युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो।
‘कोदोको परिकार, स्वास्थ्यको सुरक्षा र आम्दानीको आधार’ भन्ने नारासहित वडा नं. ७ महादेवस्थानस्थित वडा कार्यालयमा आयोजित तालिम शुक्रबार औपचारिक रूपमा समापन गरिएको हो। तालिममा एक जना स्थानीय महिला उद्यमी र १२ जना विद्यार्थी सहभागी थिए।
परिकार उत्पादन र प्रदर्शन
तालिममा सहभागीहरूले कोदोको बिस्कुट, कुकिज, निम्की, पाउरोटी, मफिन लगायतका परिकारहरू तयार पारेर समापन समारोहमा प्याकेजिङसहित प्रदर्शनी गरेका थिए। यी उत्पादनहरू त्रिधार्मिक स्थल हलेसीमा सञ्चालित ‘कोसेली घर’मा बिक्री तथा पाहुनालाई उपहारस्वरूप प्रदान गर्ने योजना नगरपालिकाले अघि सारेको छ।
स्थानीय उत्पादनलाई ब्रान्डिङ
महादेवस्थानका वडाध्यक्ष कमल गिरीका अनुसार हलेसी आउने दर्शनार्थी र भक्तजनले स्थानीय उत्पादनको खोजी गर्ने भएकाले कोदोको परिकारलाई प्रमुख स्थानीय उत्पादनको रूपमा स्थापित गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। “सहभागीहरूले व्यावसायिक रूपमा उत्पादन गरेका परिकार नगरपालिकाले खरिद गर्नेछ र ती कोसेली घरमार्फत पाहुनालाई उपहारस्वरूप दिनेछौँ,” वडाध्यक्ष गिरीले बताए।
व्यावसायिक सीप र प्रेरणा
तालिम कृषि शाखाको समन्वयमा काठमाडौँबाट झिकाइएका खाद्य प्राविधिक आर्जन गौतमको सहजीकरणमा सञ्चालन गरिएको थियो। निःशुल्क तालिम पाएपछि सहभागीहरू उत्साहित बनेका छन्। तालिमले युवालाई सीपमार्फत सशक्त बनाउने र महिलालाई आम्दानीको अवसर दिने विश्वास नगरपालिकाको छ।
नगरप्रमुख विमला राईका अनुसार, “तालिमले केवल सीप मात्र होइन, आत्मविश्वास र प्रेरणा पनि दिएको छ। पौष्टिकता, परम्परा र उद्यमशीलताको पाठ सहभागीहरूले एकसाथ सिकेका छन्।” उहाँले तालिमले रैथाने बाली कोदोको उत्पादन, मूल्य अभिवृद्धि र स्थानीय रोजगारीमा टेवा पुर्याउने अपेक्षा व्यक्त गर्नुभयो।
बजार र पोषण सुरक्षामा जोड
नगरपालिकाले सुक्खाग्रस्त क्षेत्रका रूपमा चिनिएको आफ्नो क्षेत्रमा उत्पादन हुने कोदोमा पाइने प्रोटिन, क्याल्सियम, आइरन र एन्टी-अक्सिडेन्टजस्ता पोषकतत्वलाई ध्यानमा राख्दै पोषण सुरक्षा र स्थानीय रोजगारीसँग जोडेर यसको उपयोग विस्तार गर्ने प्रयास गरेको जनाएको छ।
समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले उत्पादन गरेका परिकारहरू उपस्थित अतिथिहरूले अवलोकन मात्र नभई स्वाद परीक्षणसमेत गरेका थिए। सहभागीहरूले उत्पादन गरेका परिकार गुणस्तरीय र स्वादिष्ट रहेको प्रतिक्रिया दिएका छन्।


