Saturday, June 27, 2026
Homeअर्थ र ब्यापारऔद्योगीकरणबाट मात्रै अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री भण्डारी

औद्योगीकरणबाट मात्रै अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री भण्डारी

काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले रोजगारी सृजना गर्दै अर्थतन्त्र सुधार गर्न तीव्र औद्योगीकरण अपरिहार्य रहेको बताएका छन्।

नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले औद्योगिक क्षेत्रको सुधार गर्दै उद्योगी व्यवसायीलाई सहज रूपमा व्यवसाय सञ्चालन गर्न अनुकूल वातावरण तयार पार्नु सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरे।

उनका अनुसार आर्थिक तथा सामाजिक विकासका लागि उद्योग र व्यवसाय अत्यन्त महत्वपूर्ण क्षेत्र हुन्। त्यसैले औद्योगिक विकासबिना समृद्ध अर्थतन्त्रको परिकल्पना गर्न नसकिने उनले बताए। समग्र औद्योगिक क्षेत्रको प्रवर्द्धन तथा नीतिगत सुधारमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा सरकार अघि बढिरहेको उनले प्रस्ट्याए।

सरकारले स्वदेशी उत्पादन र उपभोग प्रवर्द्धन गर्न ‘मेक इन नेपाल’ अभियान सञ्चालन गरिरहेको जानकारी गराउँदै मन्त्री भण्डारीले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी निर्देशिका २०८१’ कार्यान्वयनमा रहेको उल्लेख गरे। उनले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहन गर्दै आयात प्रतिस्थापन गर्ने नीति अबलम्बन गरिएको जानकारी दिए।

उनले औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गर्न संघीय सरकारले आवश्यक कानुनी तथा नीतिगत सुधारसहित अध्यादेश जारी गरिसकेको बताउँदै यसले निजी क्षेत्रको आत्मविश्वासलाई बढाएको दाबी गरे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका