काठमाडौँ । सर्वोच्च अदालतले ज्यान सम्बन्धी कसूरको अनुसन्धानका क्रममा हिरासतमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई चैत २५ गतेपछि थुनामुक्त गर्न परमादेश जारी गरेको छ।
न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार यस्तो आदेश दिएको हो। काठमाडौँ जिल्ला अदालतबाट पछिल्लो पटक थपिएको ५ दिनको म्याद चैत २५ गते सकिने भएकाले सो अवधिभित्र अनुसन्धान सम्पन्न गरेर वा म्याद सकिएलगत्तै उनीहरूलाई हिरासतबाट मुक्त गर्न अदालतले निर्देशन दिएको छ।
अदालतले पक्राउ प्रक्रिया र म्याद थपलाई कानुनसम्मत ठहर गरेको छ। तर मानवीय तथा विशिष्ट परिस्थितिका कारण उनीहरूलाई निरन्तर थुनामा राखेर अनुसन्धान गरिरहनु आवश्यक नभएको ठहर गरेको हो।
ओली र लेखक दुवै आफ्ना माता–पिताको निधनपश्चात् आशौचमा रहेको र केपी शर्मा ओली गम्भीर बिरामी भई शिक्षण अस्पतालमा उपचाररत रहेको अवस्थालाई अदालतले प्रमुख आधार मानेको छ।
सोही घटनामा पक्राउ परेका तत्कालीन काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई यसअघि नै हाजिर जमानीमा रिहा गरिएको सन्दर्भमा ओली र लेखकलाई मात्र थुनामा राखिरहनु न्यायोचित नहुने अदालतले उल्लेख गरेको छ।
अदालतका अनुसार बयान लगायतका मुख्य अनुसन्धान कार्य सम्पन्न भइसकेको देखिएकाले उनीहरूलाई हिरासत बाहिरै राखेर थप प्रक्रिया अघि बढाउन सकिनेछ।
सर्वोच्चको आदेशअनुसार प्रहरीले चैत २५ गतेभित्र वा सोअगावै अनुसन्धान सकेर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम हाजिर जमानी वा तारिखमा रहने गरी उनीहरूलाई रिहा गर्नुपर्नेछ।
भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएको धनजनको क्षतिको घटनामा संलग्नताको आरोपमा उनीहरूलाई चैत १४ गते पक्राउ गरिएको थियो। उनीहरूको तर्फबाट पत्नीहरू राधिका शाक्य र यशोदा लेखकले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए।


