Tuesday, October 27, 2026
Homeराजनीतिएमाले संसदीय दल नेता बने बादल, सुहाङ प्रतिस्पर्धाबाट बाहिरिए

एमाले संसदीय दल नेता बने बादल, सुहाङ प्रतिस्पर्धाबाट बाहिरिए

काठमाडौं । नेकपा (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध चयन भएका छन्।

बुधबार च्यासलमा बसेको संसदीय दलको बैठकपछि नेता चयनका लागि प्रक्रिया अघि बढाइएको थियो। निर्वाचनका लागि सुहाङ नेम्वाङ र बादलले नाम दर्ता गर्ने तयारी गरे पनि अन्ततः बादलले मात्र उम्मेदवारी दर्ता गरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचन विभाग प्रमुख निरज आचार्यका अनुसार दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो।

सुहाङले बैठकमा युवालाई अवसर दिनुपर्ने धारणा राख्दै नेतृत्वको आकांक्षा व्यक्त गरेका थिए। तर प्रस्तावक र समर्थकको अभाव भएपछि उनले उम्मेदवारी दर्ता गर्न सकेनन्।

एमालेले गत प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाअनुसार नतिजा ल्याउन नसकेको थियो। पार्टी अध्यक्ष केपी शर्मा ओली सहित धेरै शीर्ष नेता पराजित भएका थिए।

समानुपातिक प्रणालीबाट सांसद बनेका बादल पार्टीको पहिलो वरीयताका उपाध्यक्षसमेत हुन्। अध्यक्ष ओलीको समर्थनसमेत पाएपछि उनी दलको नेतामा चयन भएका हुन्।

बादलको राजनीतिक यात्रा लामो रहेको छ। वामपन्थी आन्दोलनबाट उदाएका उनी पूर्व माओवादी केन्द्रका महासचिवसमेत रहिसकेका छन्। सशस्त्र द्वन्द्वकालमा उनले सैन्य नेतृत्व सम्हालेका थिए भने शान्ति प्रक्रियापछि पार्टी संगठन र सरकार दुवैमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उनी रक्षामन्त्री बनेका थिए भने केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

२०७७ सालमा प्रतिनिधिसभा विघटनका विषयमा उनले ओलीको पक्षमा उभिँदै पार्टीभित्रको विवादमा स्पष्ट धारणा राखेका थिए। त्यसपछि एमाले विभाजन र पुनर्गठनका क्रममा पनि उनले ओलीलाई साथ दिँदै आएका छन्।

गुल्मीमा जन्मिएका बादल लामो समयदेखि नेपाली वामपन्थी राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन्। अहिले उनी संसदीय राजनीतिमा एमालेको नेतृत्व सम्हाल्ने जिम्मेवारीमा पुगेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका