Monday, September 14, 2026
Homeराजनीतिएमाले पुनर्गठन कार्यदलको बैठक सम्पन्न, नेतृत्व परिवर्तनको हल्ला निराधार

एमाले पुनर्गठन कार्यदलको बैठक सम्पन्न, नेतृत्व परिवर्तनको हल्ला निराधार

काभ्रेपलाञ्चोक । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको दुई दिने आवासीय बैठक काभ्रेपलाञ्चोकको पनौती–बल्थलीमा सम्पन्न भएको छ।

बैठकमा कार्यदलमा प्रस्तुत दुई फरक मस्यौदा प्रतिवेदनमाथि विस्तृत छलफल भएको छ। साथै, पार्टीको संगठनात्मक सुदृढीकरण, कार्यशैलीमा सुधार तथा आवश्यक पुनर्संरचनाका विषयमा पनि छलफल गरिएको जनाइएको छ।

बैठकले अध्यक्ष परिवर्तन वा नेतृत्व विस्थापनसम्बन्धी बाहिर आएका हल्ला निराधार रहेको स्पष्ट पारेको छ। पार्टीलाई नयाँ ढंगले पुनर्ताजगी दिँदै संगठनलाई थप सुदृढ बनाउने विषयमा कार्यदलमा सहमति जुटेको जनाइएको छ।

कार्यदलका संयोजक एवं पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सदस्य–सचिव एवं महासचिव शंकर पोखरेलले प्रस्तुत गरेका दुवै मस्यौदा प्रतिवेदन तथा सदस्यहरूले दिएका सुझावमाथि बैठकमा विस्तृत छलफल भएको थियो।

बैठकले वर्तमान सरकारका अधिनायकवादी, फासिवादी तथा जनविरोधी गतिविधिको कडा प्रतिवाद गर्ने निर्णयसमेत गरेको छ। सरकारका गलत कदमविरुद्ध जनताको पक्षमा दृढ, एकताबद्ध र जुझारु संगठन निर्माण गर्दै जनपरिचालन गर्ने विषयमा प्राप्त सुझावलाई पनि प्रतिवेदनमा समेटिने जनाइएको छ।

कार्यदलमा पेस भएका दुवै मस्यौदा तथा सदस्यहरूबाट प्राप्त सुझावलाई एकीकृत गरी अन्तिम प्रतिवेदन तयार गर्ने जिम्मेवारी संयोजक रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल र सदस्य–सचिव शंकर पोखरेल सम्मिलित तीन सदस्यीय टोलीलाई दिइएको छ।

तीन सदस्यीय टोलीले तयार पार्ने एकीकृत प्रतिवेदन शीघ्र पार्टीको केन्द्रीय कमिटीसमक्ष पेस गरिने जनाइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका