काठमाडौं । नेकपा (एमाले) ले आगामी असोज ५ देखि ७ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाएको छ।
एमाले पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनमाथि छलफल हुनेछ।
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वमा गठित कार्यदलले निर्वाचन समीक्षा तथा पार्टी सुदृढीकरणका लागि विभिन्न सुझाव संकलन गरेको थियो। सोही आधारमा तयार पारिएको प्रतिवेदन बैठकमा प्रस्तुत गरिनेछ।
कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शङ्कर पोखरेललाई प्रतिवेदन लेखनको जिम्मेवारी दिइएको थियो। बैठकमा प्रतिवेदनमाथि छलफल गर्दै पार्टीको आगामी रणनीति र संगठन सुदृढीकरणका विषयमा आवश्यक निर्णय गरिने एमालेले जनाएको छ।


