Thursday, July 23, 2026
Homeसामाचार'एकपटकको नेपाली, सधैंको नेपाली' अभियानमा एनआरएनए सक्रिय, नागरिकता कार्यान्वयनदेखि लगानी सहज बनाउन...

‘एकपटकको नेपाली, सधैंको नेपाली’ अभियानमा एनआरएनए सक्रिय, नागरिकता कार्यान्वयनदेखि लगानी सहज बनाउन सरकारसँग पहल

काठमाडौं । गैर–आवासीय नेपाली संघ (एनआरएनए)ले संविधानले व्यवस्था गरेको गैर–आवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन, लगानीमैत्री वातावरण निर्माण तथा विदेशमा रहेका नेपालीका अधिकार सुनिश्चित गर्न सरकारसँग निरन्तर पहल गरिरहेको जनाएको छ।

एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राईका अनुसार वर्षौंदेखि रोकिएका गैर–आवासीय नेपालीका मुद्दा समाधान हुने अपेक्षासहित संघले सरकारका विभिन्न निकायसँग छलफललाई तीव्र बनाएको छ।

उनले संविधानले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको गैर–आवासीय नेपाली नागरिकताको व्यवस्था गरे पनि आवश्यक कानुन नबन्दा विदेशमा रहेका नेपालीले त्यसको प्रत्यक्ष लाभ लिन नसकेको बताइन्।

राईका अनुसार एनआरएनएले सरकारसमक्ष तीन चरणमा आफ्ना माग अघि सारेको छ। पहिलो चरणमा मन्त्रिपरिषद्को निर्णयबाट तत्काल कार्यान्वयन गर्न सकिने व्यवस्था लागू गर्न, दोस्रो चरणमा गैर–आवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक छिटो पारित गर्न र तेस्रो चरणमा ‘एकपटकको नेपाली, सधैंको नेपाली’ अवधारणालाई थप कानुनी सुनिश्चितता दिन आग्रह गरिएको छ।

उनले राष्ट्रिय परिचयपत्र (एनआईडी) नहुँदा बैंक खाता सञ्चालन, सम्पत्ति खरिद–बिक्री, अंश तथा अपुताली नामसारी, डिम्याट खाता सञ्चालन र सवारी साधन खरिदजस्ता विषयमा देखिएका समस्या मन्त्रिपरिषद्को निर्णयबाटै समाधान गर्न सकिने बताइन्।

लगानीमैत्री वातावरणको माग

नेपालमा लगानी गर्न चाहने गैर–आवासीय नेपालीले अझै पनि धेरै प्रशासनिक झन्झट बेहोर्नुपरेको भन्दै राईले सरकारले ‘वान डोर सिस्टम’ लागू गर्नुपर्ने आवश्यकता औंल्याइन्।

विदेशबाट पूँजी ल्याउने, नेपालमा लगानी गर्ने तथा लगानीको प्रतिफल विदेश लैजाने प्रक्रियालाई अझ सरल र पारदर्शी बनाउनुपर्ने उनको भनाइ छ।

नेतृत्व विवाद अन्त्य, एकीकृत रूपमा अघि बढेको दाबी

एनआरएनएभित्र विगत केही वर्षदेखि देखिएको नेतृत्व विवाद अन्त्य भई संस्था अहिले एकीकृत रूपमा अघि बढिरहेको पनि राईले बताइन्।

उनका अनुसार सर्वोच्च अदालतको निर्देशनपछि विभिन्न समूहबीच सहमति भएर नयाँ नेतृत्व चयन गरिएको छ भने अहिले संस्था विश्वभरका नेपालीको हितमा केन्द्रित भएर काम गरिरहेको छ।

दोस्रो पुस्तालाई नेपालसँग जोड्ने अभियान

विदेशमा जन्मिएका तथा हुर्किएका नेपाली मूलका दोस्रो पुस्तालाई भाषा, संस्कृति, इतिहास र पहिचानसँग जोड्नु एनआरएनएको प्रमुख प्राथमिकतामध्ये एक रहेको राईले बताइन्।

उनले विभिन्न देशमा नेपाली मेला, सांस्कृतिक कार्यक्रम तथा युवा नेतृत्व विकास अभियान सञ्चालन गरेर नयाँ पुस्तामा नेपालप्रतिको अपनत्व बढाउने प्रयास भइरहेको जानकारी दिइन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहयोग

एनआरएनएले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) लगायतका संस्थासँग सहकार्य गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कानुनी परामर्श, अभिमुखीकरण तथा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

राईले विदेशमा समस्या परेका नेपालीलाई सम्बन्धित देशका एनआरएनए शाखामार्फत सकेसम्म सहयोग उपलब्ध गराइरहेको बताइन्।

अनलाइन मतदान प्रणालीमा जोड

विश्वभर रहेका सदस्यलाई नेतृत्व चयन प्रक्रियामा सहभागी गराउन एनआरएनएले अनलाइन मतदान प्रणालीलाई प्राथमिकताका साथ अघि बढाएको पनि राईले जानकारी दिइन्।

उनका अनुसार विधान संशोधनपछि विश्वका जुनसुकै देशमा रहेका पञ्जीकृत सदस्यले डिजिटल माध्यमबाट मतदान गर्न सक्ने व्यवस्था विकास गर्ने लक्ष्य राखिएको छ।

राईले गैर–आवासीय नेपालीसँग रहेको ज्ञान, सीप, प्रविधि र लगानी नेपालको विकासमा उपयोग गर्न सरकार, निजी क्षेत्र र प्रवासी नेपालीबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गर्दै विश्वभर रहेका नेपालीलाई एनआरएनएको अभियानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरिन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका