काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आफ्नो एक महिने कार्यकालको अनुभव र भावी योजनाहरू सार्वजनिक गरेका छन्।
मन्त्रालय सम्हालेको एक महिना पुगेको अवसरमा भिडियो सन्देश जारी गर्दै मन्त्री पोखरेलले नागरिक र मतदाताको ठूलो आशा र भरोसाले आफूलाई काम गर्ने ऊर्जा दिएको बताएका छन्।
शिक्षा क्षेत्रमा देखिएको ढिलासुस्ती अन्त्य गर्न सुशासन र प्रणाली सुधारको काम सुरु गरिएको उनले जानकारी दिए। यसअघि एसईईको नतिजा सार्वजनिक हुन झण्डै तीन महिना लाग्ने गरेकोमा अब एक महिनाभित्रै नतिजा आउने गरी काम भइरहेको उनको भनाइ छ।
उनले नेपालको इतिहासमै पहिलोपटक परीक्षा र उत्तरपुस्तिका परीक्षण एकैदिन सुरु गरिएको उल्लेख गर्दै अब विद्यार्थीले नतिजाका लागि लामो समय कुर्नु नपर्ने बताए। साथै, कक्षा १२ को नतिजा पनि परीक्षा भएको ४५ दिनभित्रै सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए।
समावेशी शिक्षामा जोड दिँदै मन्त्री पोखरेलले सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालय स्थापना गर्ने योजना अघि सारेका छन्। प्रारम्भिक बाल विकासदेखि विश्वविद्यालय तहसम्मको भौतिक पूर्वाधार, शिक्षक र विद्यार्थीको अवस्थामा सुधार ल्याउन मन्त्रालयले विज्ञहरूसँग परामर्श गरिरहेको उनले बताए।
खेलकुद क्षेत्रलाई विद्यालयको पाठ्यक्रमसँग जोड्दै तल्लो तहदेखि नै खेलाडी उत्पादन र उनीहरूको सम्मानका लागि नीतिगत काम भइरहेको पनि उनले उल्लेख गरे।
आफ्ना कामहरू सुरुवाती चरणमा केही सुस्त देखिए पनि सस्तो लोकप्रियताभन्दा दीर्घकालीन र नीतिगत समाधानमा आफू केन्द्रित रहेको उनले स्पष्ट पारे। नागरिकका सुझाव र आलोचनालाई आत्मसात् गर्दै आगामी दिनमा थप प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता मन्त्री पोखरेलले व्यक्त गरेका छन्।


