Wednesday, July 8, 2026
Homeसामाचारउद्योग र लगानी प्रवर्द्धनबारे प्रधानमन्त्री शाहको निजी क्षेत्रसँग छलफल

उद्योग र लगानी प्रवर्द्धनबारे प्रधानमन्त्री शाहको निजी क्षेत्रसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग–व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारका विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग उच्चस्तरीय छलफल गरेका छन्।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउने, उद्योग सञ्चालनलाई सहज बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत विचारविमर्श भएको थियो।

प्रधानमन्त्री शाहले आर्थिक विकास, लगानी विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।

उनले उद्योग तथा निजी क्षेत्रमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी र प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने पनि स्पष्ट पारे।

छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सहजता तथा सरकार–निजी क्षेत्रबीच नियमित र परिणाममुखी संवादको आवश्यकता औँल्याएका थिए।

प्रधानमन्त्री शाहले निजी क्षेत्रबाट प्राप्त सुझावलाई गम्भीरतापूर्वक कार्यान्वयनको प्रक्रियामा लैजाने प्रतिबद्धता जनाउँदै सम्बन्धित निकायमार्फत आवश्यक सहजीकरण र सुधारका काम अघि बढाइने बताए। साथै, आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने उनको भनाइ थियो।

छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा. घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रालगायत निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए।

छलफलबाट उद्योग–व्यवसाय प्रवर्द्धन, लगानीका लागि अनुकूल वातावरण निर्माण, सरकार–निजी क्षेत्रबीचको सहकार्य सुदृढीकरण तथा निजी क्षेत्रमैत्री नीतिनिर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका