Sunday, May 10, 2026
Homeअन्तराष्ट्रियइरानले अमेरिकाको प्रस्तावमा पठायो औपचारिक जवाफ

इरानले अमेरिकाको प्रस्तावमा पठायो औपचारिक जवाफ

काठमाडाैँ । इरानले युद्ध अन्त्यका लागि संयुक्त राज्य अमेरिकाले दिएको प्रस्तावमाथि आफ्नो औपचारिक जवाफ पठाएको छ। इरानी सञ्चारमाध्यमका अनुसार पाकिस्तानको मध्यस्थतामार्फत उक्त जवाफ पठाइएको हो।

यद्यपि, दुवै पक्षले प्रस्ताव र जवाफको विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। अमेरिकी प्रस्ताव इरानको आणविक कार्यक्रमसँग सम्बन्धित १४ बुँदे समझदारीमा आधारित रहेको बताइएको छ।

गत फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि फैलिएको युद्ध अहिले युद्धविरामको अवस्थामा रहेको छ। केही स्थानमा छिटफुट गोली हानाहान भए पनि वार्ताको वातावरण बनाउन युद्धविरामलाई धेरै हदसम्म पालना गरिएको बताइएको छ।

तर, इरानले विश्वकै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुजमा अवरोध कायम राखेको छ। यसको प्रभाव विश्वबजारमा इन्धनको मूल्यमा परेको छ। अर्कोतर्फ, अमेरिकाले इरानमाथि दबाब बढाउन इरानी बन्दरगाह क्षेत्रमा सैन्य गतिविधि तीव्र बनाएको बताइएको छ।

अमेरिकी कदमप्रति इरानले कडा आपत्ति जनाएको छ। इरानी राष्ट्रपति मसूद पेजेस्कियानले सामाजिक सञ्जालमार्फत इरानले कुनै पनि दबाबसामु शिर नझुकाउने बताएका छन्।

उनले संवाद र वार्तालाई आत्मसमर्पण नभई राष्ट्रिय अधिकार र स्वार्थको रक्षा गर्ने माध्यमका रूपमा व्याख्या गरेका छन्।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य हुने दाबी गर्दै तेहरानको आणविक लक्ष्य रोक्ने आफ्नो उद्देश्यलाई व्यापक समर्थन रहेको बताएका छन्।

अमेरिकी सञ्चारमाध्यमका अनुसार प्रस्तावमा इरानको आणविक संवर्धन स्थगित गर्ने, प्रतिबन्ध हटाउने र स्ट्रेट अफ होर्मुजमा स्वतन्त्र आवागमन पुनः सुरु गर्ने विषय समावेश छन्। तर इरानी पक्षले ती सर्तलाई अस्वीकार गर्दै आएको छ।

इरानी सैन्य प्रवक्ताले स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने जहाजहरूले तेहरानसँग समन्वय नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

यसबीच खाडी क्षेत्रमा सैन्य गतिविधि थप बढेको छ। कतारको दोहा नजिक एक मालवाहक जहाजमा प्रहार हुँदा सामान्य आगलागी भएको बताइएको छ। इरानी सञ्चारमाध्यमले उक्त जहाज अमेरिकी झण्डा बोकेको दाबी गरेका छन्।

त्यस्तै, कुवेत र संयुक्त अरब इमिरेट्सले इरानतर्फबाट आएका ड्रोन आफ्नो हवाई सुरक्षा प्रणालीले नष्ट गरेको बताएका छन्।

स्ट्रेट अफ होर्मुजमा व्यावसायिक जहाजहरूको सुरक्षाबारे छलफल गर्न बेलायत र फ्रान्सको नेतृत्वमा ४० भन्दा बढी राष्ट्रका रक्षा मन्त्रीहरूको बैठक सोमबार बस्ने भएको छ।

यसअघि ट्रम्पले इरान सम्झौतामा नआए बमबारीको तीव्रता अझ बढाइने चेतावनी दिएका थिए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका