वासिङ्टन डिसी । डोनाल्ड ट्रंपले इरानविरुद्ध भविष्यमा अमेरिकी सैन्य कारबाही गर्नुअघि कांग्रेसको स्वीकृति लिनुपर्ने मागसहित डेमोक्रेटहरूले अघि सारेको प्रस्ताव अमेरिकी सिनेटमा असफल भएको छ।
सिनेटमा भएको मतदानमा प्रस्ताव ४७–५३ मतले खारेज भयो। रिपब्लिकन सिनेटर र्यान्ड पलले अधिकांश डेमोक्रेटसँग मिलेर प्रस्तावको पक्षमा मतदान गरे भने डेमोक्रेट सिनेटर जोन फेटरम्यानले रिपब्लिकनहरूसँग मिलेर प्रस्तावको विपक्षमा मत दिए।
प्रस्ताव पारित भएको भए पनि क्यापिटल हिल (अमेरिकी संसद भवन)मा यसको आगामी प्रक्रिया जटिल रहने आकलन गरिएको थियो। यसले सिनेटमा पूर्ण संशोधन प्रक्रिया पार गर्नुपर्ने, त्यसपछि प्रतिनिधिसभामा जानुपर्ने र अन्ततः राष्ट्रपतिको सम्भावित भिटोलाई उल्टाउन दुई तिहाइ मत आवश्यक पर्ने व्यवस्था थियो।
यसअघि ट्रम्पले भेनेजुएलासम्बन्धी सैन्य कारबाहीविरुद्ध प्रस्ताव अघि बढाउने आफ्नै पार्टीका पाँच सिनेटरको आलोचना गरेका थिए। त्यसपछिको सन्दर्भमा इरान मामिलामा राष्ट्रपतिको अधिकारको बचाउ गर्दै रिपब्लिकन सिनेटरहरूले यस प्रस्तावलाई असफल बनाएका हुन्।
उक्त पाँचमध्ये र्यान्ड पल भने यसपटक पनि राष्ट्रपतिको अधिकार सीमित गर्ने पक्षमा उभिएका थिए। यस विषयमा अमेरिकी प्रतिनिधिसभाले बिहीबार मतदान गर्ने अपेक्षा गरिएको छ।


