कुवेत सिटी । अमेरिका–इजरायल र इरानबीच जारी युद्धको प्रभाव छिमेकी मुलुक कुवेतसम्म पुगेको छ। सोमबार इरानले कुवेतस्थित एक विद्युत् तथा पानी शुद्धीकरण प्लान्टमा आक्रमण गरेको जनाइएको छ।
कुवेती अधिकारीहरूका अनुसार उक्त आक्रमणमा परी प्लान्टमा कार्यरत एक भारतीय कामदारको मृत्यु भएको छ भने सेवा भवनमा ठूलो भौतिक क्षति पुगेको छ। कुवेतको विद्युत् मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरानी आक्रमणका कारण पूर्वाधारमा गम्भीर असर परेको र अवस्था नियन्त्रणमा लिन आपत्कालीन प्राविधिक टोली परिचालन गरिएको उल्लेख छ।
इरानले यसबारे औपचारिक प्रतिक्रिया नदिए पनि त्यहाँका सरकारी सञ्चार माध्यमहरूले कुवेती मन्त्रालयलाई उद्धृत गर्दै प्लान्टमा व्यापक क्षति भएको खबर प्रसारण गरेका छन्। एक महिनाअघि सुरु भएको युद्धका कारण कुवेतले लगातार यस्ता आक्रमणहरूको सामना गरिरहेको बताइएको छ।
यसअघि आइतबार साँझ कुवेती आकाशमा १४ वटा मिसाइल र १२ वटा ड्रोन देखिएको थियो। तीमध्ये केही ड्रोनले सैन्य क्याम्पलाई निशाना बनाउँदा १० जना सैनिक घाइते भएका थिए।


