काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको निरन्तर प्रयास र नागरिकको सहयोगले कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यमा उल्लेख्य प्रगति हासिल भएको बताएका छन् । भाइटीकाका अवसरमा शनिबार शुभकामना दिँदै उनले अझै पनि कोभिड–१९ को जोखिम रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै पर्व मनाउन अनुरोध गरेका हुन्।
प्रधानमन्त्री देउवाले संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकलाई विकास र प्रगतिको दिशामा अगाडि बढाइरहेको उल्लेख गरेका छन्। उनले तिहारजस्तो दिदीबहिनी र दाजुभाइको मिलन गराएर आपसी भाइचाराको सम्बन्ध बढाउने पर्वले हामी सबैलाई त्यो किसिमको प्रेरणा र खुशी देओस् भन्ने कामना गरेका छन्। देउवाले मुलुकमा शान्ति, अमनचयन र सुशासनको प्रत्याभूतिमा उचाइ हासिल गर्न मद्दत पुगोस् भन्ने कामनासमेत व्यक्त गरेका छन्।
प्रधानमन्त्री देउवाले पर्वले आम नेपाली दिदीबहिनी तथा दाजुभाइकाबीच आपसी भाइचाराको सम्बन्ध विस्तार गर्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।


