कञ्चनपुर: कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ४५ किलोमिटर सडक स्तरोन्नति गर्ने योजना अघि सारेको छ। नगरपालिकाका नौवटै वडामा प्रत्येक वडाका लागि पाँच किलोमिटरका दरले सडक स्तरोन्नतिको काम सुरु गरिएको हो। पहिलो चरणमा वडा नं ४ को मालुवेला क्षेत्रबाट काम थालिएको नगर प्रमुख हेमराज ओझाले जानकारी दिनुभयो।
सडक स्तरोन्नतिका लागि नगरपालिकाले उपलब्ध साधन स्रोत, जस्तै टिपर, लोडर, ट्र्याक्टर, र रोलर प्रयोग गर्दै काम अघि बढाएको छ। यसका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ। “उपभोक्ता समितिमार्फत एक किलोमिटर सडक स्तरोन्नतिमा करिब रु १० लाख खर्च हुने अनुमान गरिएको छ,” नगर प्रमुख ओझाले बताउनुभयो। नगरवासीले आफ्नै साधन स्रोत प्रयोग गरेर काम गर्दा अपनत्व महसुस गरेको पनि उहाँले उल्लेख गर्नुभयो।
गत आर्थिक वर्षमा नगरपालिकाले २५ किलोमिटर सडक स्तरोन्नति गरेको थियो। यस वर्ष, सङ्घ र प्रदेश सरकारबाट प्राप्त रु १२ करोडको लागत साझेदारीमा नगरपालिका क्षेत्रमा सडक कालोपत्र गर्ने कामसमेत भइरहेको छ।


