Monday, May 25, 2026
Homeसामाचारआज १० औँ भूकम्प स्मृति दिवस मनाइँदै

आज १० औँ भूकम्प स्मृति दिवस मनाइँदै

काठमाडौँ: राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ ७:३४ बजे रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ। यो पछिल्लो समय पश्चिम नेपालमा श्रृङ्खलाबद्ध रूपमा भइरहेका भूकम्पहरूमध्ये एक हो। विशेषगरी भूकम्प स्मृति दिवसको अघिल्लो दिन रुकुमपूर्वमा यस किसिमको सामान्य प्रकृतिको भूकम्प गएको हो।

पछिल्ला दिनहरूमा पश्चिम नेपालका विभिन्न स्थानमा सानातिना भूकम्पहरू दोहोरिँदै आएका छन्। विशेषगरी २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोट केन्द्रबिन्दु रहेको ६.४ म्याग्निच्युडको भूकम्पपछि निरन्तर सो क्षेत्र भूकम्पको सक्रिय क्षेत्रका रूपमा देखिएको छ।

आज वैशाख १२ गते। यसै दिन २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएको ७.६ म्याग्निच्युडको विनाशकारी भूकम्पले ८,९७९ जनाको ज्यान लिएको थियो भने २२,३०९ जना घाइते भएका थिए। ठूलो जनधनको क्षति भएको उक्त भूकम्पको स्मृतिमा आज देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिएका छन्।

सुरक्षित पूर्वाधार निर्माणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइँदै आएको भूकम्प स्मृति दिवस अन्तर्गत काठमाडौँको सुन्धारास्थित धरहरा परिसरमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।

“सुरक्षित पूर्वाधार निर्माण गरौँ, भूकम्पबाट जोगिऔँ” भन्ने मूल नारासहित आजको स्मृति दिवसले पूर्वतयारी र सतर्कताको महत्व झल्काउने उद्देश्य लिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका