Saturday, July 18, 2026
Homeसामाचारआज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

काठमाडौं । देशभर मनसुनी वायूको प्रभाव कायम रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा केही उत्तरतर्फ तराई नजिक र पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। लुम्बिनी प्रदेशको तराईका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान र मधेश, कोशी तथा बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

विभागका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली, पहाडी तथा तराईका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका