Thursday, September 17, 2026
Homeसामाचारआज देशका धेरै स्थानमा वर्षा, कोशी–बागमती–गण्डकीमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आज देशका धेरै स्थानमा वर्षा, कोशी–बागमती–गण्डकीमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही माथि, नेपालको दक्षिणी भूभाग नजिक अवस्थित छ।

हाल देशभर अधिकांश स्थानमा बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने विभागले जनाएको छ।

मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशका पहाडी भूभागका केही स्थान तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा अन्य हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान, लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा मधेश प्रदेश, गण्डकीको तराई र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। यसले नदी–नाला, पहिरो तथा डुबानको जोखिम बढाउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका