काठमाडौँ: आज नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय मातृभाषा दिवस भाषिक जागरूकता, सांस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनका विभिन्न कार्यक्रमसहित मनाइँदैछ। विविधतामा एकता र अन्तर्राष्ट्रिय समझदारीलाई प्रवर्द्धन गर्नु यस दिवसको मुख्य उद्देश्य हो।
सन् १९९९ को नोभेम्बरमा बङ्गलादेशले अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले अनुमोदन गरेपछि यो दिवस मनाउन थालिएको हो। पछि सन् २००२ मा संयुक्त राष्ट्रसङ्घको महासभाले यस दिवसलाई औपचारिक रूपमा घोषणा गर्यो।
यस वर्ष अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रजत जयन्ती अवसरमा पेरिसस्थित युनेस्कोको प्रधान कार्यालयमा ‘प्राविधिक संवाद, उच्चस्तरीय छलफल सत्र र सांस्कृतिक प्रदर्शन’ लगायत विविध कार्यक्रम आयोजना गरिंदैछ।
युनेस्कोका अनुसार, यो समारोह सबैका लागि गुणस्तरीय शिक्षा, समावेशी समाज निर्माण, सांस्कृतिक सम्पदाको संरक्षण, दिगो विकासमा विज्ञान तथा प्रविधिको उपयोग, साथै बहुभाषिकता र बहुसांस्कृतिकताको प्रवर्द्धनमा केन्द्रित रहनेछ।


