Sunday, July 19, 2026
Homeसामाचारअविरल वर्षाले देशभर सडक सञ्जाल प्रभावित, बाढी–पहिरोका कारण प्रमुख राजमार्ग अवरुद्ध र...

अविरल वर्षाले देशभर सडक सञ्जाल प्रभावित, बाढी–पहिरोका कारण प्रमुख राजमार्ग अवरुद्ध र रात्रिकालीन यात्रा प्रतिबन्ध

काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढेपछि प्रमुख राजमार्ग तथा सडक सञ्जाल प्रभावित भएका छन्। पहिरो र लेदोका कारण कतिपय सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिमलाई मध्यनजर गर्दै केही सडकखण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ।

नेपाल प्रहरीका अनुसार सम्भावित बाढी र पहिरोको उच्च जोखिमका कारण बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा अर्को सूचना जारी नभएसम्म बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको छ। उक्त सडकमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्र सवारी सञ्चालन गर्न दिइएको छ।

त्यस्तै, कान्ति लोकपथमा पनि जोखिमका कारण अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

यता, देशका विभिन्न जिल्लामा पहिरो र हिलोका कारण सडक अवरुद्ध भएका छन्। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा अत्यधिक लेदो र हिलो जमेकाले सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।

अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ ढुंगेखोला क्षेत्रमा माथिबाट ठूला ढुंगा खस्दा सालझण्डी–ढोरपाटन सडकखण्ड अवरुद्ध भएको छ। त्यसैगरी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नं. २ कोदारी क्षेत्रमा भीषण पहिरोसँगै ढुंगा–माटो खस्दा अरनिको राजमार्ग प्रभावित बनेको छ।

यस्तै, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगर क्षेत्रमा पहिरो जाँदा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ घुमाउने, वडा नं. ८ गिम्दी तथा वडा नं. ९ बिरुवाडाँडा र पिन्थली क्षेत्रमा ठूला पहिरो खसेपछि बिपी राजमार्गको सो खण्डमा पनि यातायात पूर्ण रूपमा ठप्प भएको छ।

सडक विभाग र सुरक्षा निकायले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेका छन्। तर वर्षा र पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न, अनावश्यक यात्रा नगर्न तथा सम्बन्धित निकायको सूचना पालना गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका