इस्लामावाद। अमेरिका र इरानबीच बढ्दो तनाव कम गर्ने उद्देश्यले पाकिस्तानको राजधानी इस्लामावादमा दोस्रो चरणको उच्चस्तरीय शान्ति वार्ता हुने तयारी गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी दुई दिनभित्र पाकिस्तानमा वार्ता हुन सक्ने संकेत दिएपछि अन्तर्राष्ट्रिय समुदायले यसलाई चासोपूर्वक हेरिरहेको छ। यसअघि गत साता भएको २१ घण्टा लामो वार्ता निष्कर्षविहीन टुंगिएपछि दुई देशबीच सैन्य तनाव बढ्नुका साथै अन्तर्राष्ट्रिय तेल बजारमा पनि अनिश्चितता देखिएको थियो।
पाकिस्तानी सेना प्रमुख फिल्ड मार्शल जनरल असिम मुनिर र प्रधानमन्त्री शहबाज शरिफको सक्रिय पहलमा वार्ताको वातावरण तयार भएको बताइएको छ। ट्रम्पले एक अन्तरवार्तामा पाकिस्तानको मध्यस्थता भूमिकाको प्रशंसा गर्दै इस्लामावादमा वार्ता टोली पठाउन सकारात्मक रहेको बताएका छन्।
वार्ता अप्रिल १७ (वैशाख ५) भित्र सुरु हुने सम्भावना रहेको छ। अमेरिकाका तर्फबाट उपराष्ट्रपति जेडी भान्स र इरानका तर्फबाट विदेशमन्त्री अब्बास अराघचीले वार्ताको नेतृत्व गर्ने अपेक्षा गरिएको छ।
वार्तामा अमेरिकाले इरानको युरेनियम संवर्धन कार्यक्रम २० वर्षका लागि पूर्ण रूपमा रोक्नुपर्ने माग अघि सारेको छ भने इरानले १० वर्षभन्दा बढीको प्रतिबन्ध स्वीकार गर्न नसकिने अडान राखेको छ। साथै, विश्वको करिब २० प्रतिशत तेल ढुवानी हुने हर्मुज जलडमरू खुला राख्न अमेरिकाले दबाब दिइरहेको छ।
वार्ताको सम्भावनाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा केही स्थिरता आएको छ। यदि वार्ता सफल भएमा वैशाख ९ (अप्रिल २१) मा सकिन लागेको दुई हप्ते अस्थायी युद्धविरामलाई दीर्घकालीन शान्ति सम्झौतामा रूपान्तरण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
संयुक्त राष्ट्रसंघका महासचिवले पनि यस वार्तालाई “अन्तिम अवसर” का रूपमा उल्लेख गर्दै दुवै पक्षलाई लचकता अपनाउन आग्रह गरेका छन्। यसैबीच, पाकिस्तानले इस्लामावादमा सुरक्षा व्यवस्था कडा पारेको छ भने वार्ताको औपचारिक मिति र स्थानको घोषणा चाँडै हुने अपेक्षा गरिएको छ।


