Sunday, April 19, 2026
Homeसुन्दर नेपालअन्नपूर्ण आधार शिविर र मुस्ताङमा पर्यटकको भीड, होटलहरू भरिभराउ

अन्नपूर्ण आधार शिविर र मुस्ताङमा पर्यटकको भीड, होटलहरू भरिभराउ

म्याग्दी — अन्नपूर्ण आधार शिविरमा असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को कात्तिक दोस्रो हप्तासम्म पनि रोकिएको छैन। मुस्ताङ र अन्नपूर्ण आधार शिविरमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएनन्।

हाल मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरू भरिभराउ छन्। होटल सञ्चालकलाई आवास व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। दसैँ, तिहार, छठलगायत चाडपर्वको लामो बिदामा विद्यार्थी, युवा, सरकारी तथा निजी कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र विदेशबाट फर्केका व्यक्तिहरूको रोजाइमा मुस्ताङ र अन्नपूर्ण आधार शिविर परेका छन्।

आन्तरिक पर्यटकको पहिलो रोजाइ मुस्ताङ जिल्लास्थित मुक्तिनाथ बनेको छ। मुस्ताङ पुगेकाहरूले कोरला नाका, लोमान्थाङ दरबार, छोसेर गुफा, चराङ गुम्बा, कागबेनी, ढुम्बाताल र मार्फा गाउँको भ्रमण गर्ने गरेका छन्। बर्सेनि आठ लाखभन्दा बढी आन्तरिक र डेढ लाखभन्दा बढी विदेशी पर्यटक मुस्ताङ पुग्ने तथ्यांक छ।

पछिल्लो समयमा पहाडी र हिमाली क्षेत्रको साहसिक यात्रामा रुचि राख्नेहरू म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर पुगिरहेका छन्। झरना र पञ्चकुण्ड हुँदै चार हजार एक सय ९० मिटर उचाइमा पुगिने यो स्थल तीन दिनमै आवतजावत गर्न सकिन्छ। निलगिरि र अन्नपूर्ण हिमालको फेदमा अवस्थित यो नयाँ गन्तव्य पर्यटकबीच लोकप्रिय बन्दै गएको छ।

म्याग्दी हुँदै दैनिक करिब आठ हजार जना मुस्ताङ प्रवेश गर्छन् भने अन्नपूर्ण आधार शिविर जानेको सङ्ख्या दैनिक पाँच सयभन्दा बढी छ। होटल व्यवसायीका अनुसार यसपालि दुवै गन्तव्यमा अपेक्षाभन्दा धेरै पाहुना आएका छन्। होटल, रेष्टुरेन्ट र होमस्टेहरूले पाहुनाको चाप थेग्न कठिनाइ भोगिरहेका छन्।

होटलको क्षमताले नथेकेपछि स्थानीय प्रशासन, सुरक्षा निकाय, होटल व्यवसायी र उद्योग वाणिज्य सङ्घले अग्रिम बुकिङको आग्रह गर्दै कुश्मा, बागलुङ र पोखराका होटल, सामुदायिक भवन र धर्मशालामा वैकल्पिक बसोबासको व्यवस्था मिलाएका छन्।

भुरुङ–तातोपानीका होटल व्यवसायी राजु हमालका अनुसार अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गका होटलहरू पनि यो हप्ताको अन्त्यसम्म बुक भइसकेका छन्। छठपछि पाहुनाको आगमन केही घटे पनि अकुपेन्सी दर उच्च नै रहेको उनले बताए।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठका अनुसार सडक पहुँच र प्रचारप्रसारका कारण मुस्ताङ र अन्नपूर्ण आधार शिविर आन्तरिक पर्यटकको मुख्य रोजाइमा परेका हुन्। मुक्तिनाथ तीर्थयात्रा, हिमालको दृश्यावलोकन, हिमाली संस्कृतिको अनुभव र सामाजिक सञ्जालमार्फतको प्रचारले यात्रुको आकर्षण बढाएको उनले बताए।

पर्यटक आगमनले होटल व्यवसायीलाई क्षमता र सुविधा वृद्धिमा लगानी गर्न प्रेरित गरेको र नयाँ व्यवसायिक अवसर देखिएको श्रेष्ठको भनाइ छ।

भ्रमणमा आएका पर्यटकहरूले सडक मर्मत, यातायात भाडादरमा एकरूपता, पदमार्गका होटलहरूको क्षमता विस्तार र सञ्चार तथा विद्युत् सेवा सुधारको माग गरेका छन्। गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले तीनै तहका सरकार, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र निजी क्षेत्रबीच समन्वय गरी पर्यटन क्षेत्रका समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका