Saturday, June 6, 2026
Homeमुख्य समाचारतिहारको महिमा र आधुनिकता

तिहारको महिमा र आधुनिकता

दीपावली अर्थात् यमपञ्चक नेपालीको दोस्रो महान् चाड घरआँगनमा भित्रिइसकेको छ। बडादसैंको ठिक १५ दिनपछि सुरु हुने यमपञ्चक अर्थात् तिहार दाजुभाइ–दिदीबहिनीबीचको सुमधुर सम्बन्धको कडी पनि हो। न जाडो न त गर्मी नै, मनमोहक प्राकृतिक मौसमबीच दाजुभाइ, दिदीबहिनीलगायत पारिवारिक भेटघाट, आत्मीयताको विकास र सम्बन्धहरूको नवीकरणले आससमा सद्भावसमेत बढाउने गरेको छ।

कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन कागको पूजा गरी सुरु गरिने यो तिहार कार्तिक शुक्ल पक्ष द्वितीयाका दिन भाइटिका गरी समापन हुने गर्छ। विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका कारण लगभग घरभित्रै सीमित रहेको अघिल्लो वर्षका चाडपर्वका कारण सबैलाई खल्लो महसुस भएको थियो। त्यसलाई बिर्सदै यस वर्ष हर्सोल्लासका साथ पर्वहरू मनाउन नेपाली स्थानीय हाटबजारमा भीडभाडका साथ बाक्लो उपस्थिति देखिन्छ।

सूर्यका छोरा यमराजले बहिनी यमुनाको निमन्त्रणामा पाँच दिन उनकै घरमा बसेर यो पर्व मनाएकाले यसलाई यमपञ्चक भनिएको कुरा पौराणिक कथामा उल्लेख छ। उक्त पाँच दिनमा बहिनीको सेवा र सत्कारबाट प्रसन्न भएका यमराजले बहिनीलाई वर मागभन्दा यमुनाले हरेक वर्ष आजकै दिन आफ्ना दिदीबहिनी र दाजुभाइले भेटघाट गर्नु पर्ने चलन चलेको हो। दिदीबहिनीले दाजुभाइको दिर्घायु, शुख समृद्घि र सु–स्वाथ्यको कामना गर्दै पूजा गर्नुपर्ने परम्परा आजसम्म छ। यस्तै दाजुभाइ र दिदीबहिनीले एक अर्काको सदा उन्नति, प्रगतिको कामना गर्दै माया, प्रेम, सद्भाव साट्नु पर्ने वर मागेको र यमराजले तथास्तु भनी आशिर्वाद दिएको पाइन्छ। त्यसैले त्यसबेलादेखि यो पर्व मनाउँदै आएको कुरा पनि उक्त कथामा उल्लेख छ।

वर्षैभरी खबर सुनाउने काग, घरको रक्षक तथा साथी कुकुर अनि परम्परागत कृषि प्रणालीको मियो मानिने गाई–गोरु आदि पशुपक्षीको पूजा पनि यही चाडमा गरिन्छ। यसले नेपालीले पशुपक्षीको पनि पूजा गर्ने, मानसम्मान गर्ने प्रवृत्ति झल्काउँछ। यसरी जीवन र जगत्का सबैखाले महत्वपूर्ण सहयोगीहरूलाई सम्मान गर्ने विशेषता बोकेको पर्व तिहारको यो अर्को विशिष्ट पक्ष हो। यस पर्वमा खेलिने देउसी–भैलो पनि महŒव उत्तिकै छ। नेपाली संस्कृतिको अन्तरघुलनको प्रतिक देउसी–भैलोले एक साथ साझा संस्कृतिको आवाज प्रस्फुटित गर्छ।

कृष्ण पक्षको औंसीको अधेंरी रातमा चम्कने झिलिमिली बत्ती तथा आकाशदीपसहित गरिने धनधान्यकी देवी लक्ष्मीको पूजाले तिहारलाई विशेष बनाएको छ। जाडोको सुरुआतीतिर देखिने न जाडो न गर्मी अर्थात् बीचको सुमधुर वातावरणलाई रंगीचंगी बनाउँदै फुलेका सयपत्री, गोदावारी र मखमली फूलले गाउँघरमा झनै चमक थप्ने गरेको छ। त्यसैले पनि तिहारलाई फूलैफूलको पर्व भनिएको हो। यमपञ्चकको अन्तिम दिन भाइपूजा यस पर्वको सबैभन्दा मुख्य दिन हो। त्यसैले पनि यो दिन सुन्दर, रमाइलो र महत्वपूर्ण मानिन्छ।तर पछिल्लो समय नेपालीको तिहार मनाउने शैलीमा केही परिवर्तन आएको सहजै देख्न सकिन्छ। बदलिँदो समाज र बढ्दो आधुनिकताले नेपाली समाजमा मनाइने चाडपर्वहरूलाई पनि अछुतो राख्न सकेको छैन। देउसी–भैलोको परम्परागत शैलीमा परिवर्तन आई आधुनिक बाजागाजा, नृत्य र समग्रमा भन्नुपर्दा जीवनशैली नै फेरिन थालेको देखिन्छ। लक्ष्मीपूजाको रात घर–घरमा बालिने दियो, आकाशदीपहरूलाई आधुनिक विद्युतीय झिलिमिलि बत्तीहरूले विस्थापित गरेका छन्। देउसी–भैलोमा निःस्वार्थ रूपमा घरपरिवारको सुख–शान्ति र समृद्विको कामना सहितको आसिक दिइन्छ। घरघरमा खेलिने देउसी–भैलो क्षणिक लोभ, लालच र कुनै उद्देश्य प्राप्तिका लागि आर्थिक संकलन तथा देखावटी पनि हुन पुगेको पनि देखिन्छ।

दिदीबहिनीले दाजुभाइलाई दुबो, तेल, ओखर, कटुस, बिमिरो आदि सामग्रीहरूको प्रयोग गरी सप्तरंगी टिका लगाउनुको पनि शास्त्रीय मान्यता छ। सयपत्री तथा मखमली फूलको माला लगाई सेल रोटी, अनर्सा, थरीथरीका फलफूल तथा काजु, किसमिस, बदाम आदि भाइमसला दिने सन्दर्भमा पनि आधुनिकताको असर देखिन्छ। सुख, शान्ति, आरोग्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्नुपर्ने भाइपूजामा आधुनिकताले आपसमा अनावश्यक प्रतिस्पर्धा र देखावटीपन बढाएको स्पष्ट देखिन्छ।

अन्त्यमा, बढ्दो आधुनिक शैलीले हरेक चाडपर्वमा हाम्रो नेपाली मौलिकपन र परम्परागत शैली विस्थापित वन्दै जानु हाम्रा लागि सुखद् पक्ष पक्कै पनि होइन। यस्तो परिप्रेक्ष्यमा विश्वभर छरिएर रहेका नेपाली तथा हिन्दू धर्मावलम्बीले हरेक वर्ष तिहारलाई संस्कार र संस्कृति हराउने होइन, बचाउने ढंगले मनाऔं। अत्यन्त हर्षोल्लासपूर्वक मनाउने वातावरण सबैले सिर्जना गरौं। नेपालीपन जीवित राख्दै नेपाली तिहार बनाउन र मनाउन अब कुनै कसर देखिनु हुँदैन।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका