करिब डेढ बर्षका लागि हिन्दी चलचित्रका निर्माताले प्रदर्शन मिति तय गरिसक्दा पनि नेपाली चलचित्रले भने गति लिनै सकेको छैन । नेताको घरमा पुगेर भेट गर्दा होस् या दैनिक बैठक बस्दा नै किन नहोस्, समस्याको समाधान अझै निस्किएको छैन ।
यो बर्ष अहिलेसम्म ३ वटा चलचित्रले प्रदर्शन मिति तोक्नु बाहेक अन्य निर्माताले चलचित्र कहिलेबाट रिलिज गर्ने पक्का गर्न सकेका छैनन् । अब त विदेशी चलचित्रसँग चर्को प्रतिस्पर्धा गर्नुपर्ने अवस्था श्रृजित भएको छ । यस्तो अवस्थामा, प्रदर्शक, वितरक तथा निर्माताले कहिले समाधान खोज्छन् र नयाँ ढंगले यो चलचित्रलाई अगाडि बढाउँछन् भन्ने चासो सर्वत्र छ ।
यसैविच, चलचित्र विकास बोर्डमा आज चलचित्र निर्माता, वितरक र प्रदर्शकहरुको छलफल चलेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालसँग भएको छलफलमा मंगलबारसम्म सबै समस्या समाधान गरेर चलचित्र क्षेत्रलाई अगाडि बढाउने बिषयमा छलफल भएको वुझिएको छ ।
श्रोतका अनुसार, नेपाल चलचित्र संघ र चलचित्र निर्माता संघको कार्यसमिती वैठक बसेर यो बिषयमा प्रस्ताव पारित गरेर सोमबार विकास बोर्डमा वुझाउने तयारी गरिएको छ । सोमबार विकास बोर्डमा प्रदर्शक, वितरक र निर्माताको बैठक बसेर निर्माता संघ र चलचित्र संघले ल्याएका प्रस्तावमा छलफल गरेर सहमती जुटाउने तयारी गरिएको छ ।
यस्तै, मंगलबार चलचित्रकर्मीहरुको उपस्थितीमा पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी भएको वुझिएको छ । ‘मंगलबारसम्म चलचित्र क्षेत्रका लागि सुखद समाचार आउँछ’, आजको छलफलमा सहभागी एक चलचित्रकर्मीले अनलाइनखबरसँग भने ।


