काठमाडौं : बंशाणुगत रोग हेमोफिलियाबाट प्रभावित सबै व्यक्तिको विस्तृत गणना गरि राष्ट्रिय जनगणना, २०७८ मा समेट्न चिकित्सक एवं हेमोफिलिकले माग गरेका छन् । आमाबाट पुरुष सन्तानमा सर्ने हेमोफिलिया भएका व्यक्तिको आफसे आफ आन्तरिक रक्तश्राव भइरहने र अपांगता गराउने जोखिम हुने चिकित्सकहरु बताउँछन् ।
हेमोफिलिया सोसाइटी नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै निजामति अस्पतालका रक्तरोग विशेषज्ञ डा. विशेष पौडेलले रोगको पहिचान नै नभएका व्यक्तिहरुलाई पनि जनगणनामा समेट्न सके उपचारको दायरामा ल्याउन सकिने बताए ।
आगामी कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गरिने राष्ट्रिय जनगणनामा पहिलो पटक हेमाफिलिक व्यक्तिको पनि गणना गरिँदै छ । वीर अस्पतालका रक्तरोग विशेषज्ञ डा. निरज सिंहले हेमोफिलिया प्रभावितहरु व्यक्तिहरु हरेक वर्ष थपिदै गएको तर यकिन संख्या नभएको बताए । राष्ट्रिय अपांग महासंघका महासचिव राजु बस्नेतले अपांगताको ऐनमा हेमोफिलिक व्यक्तिहरु पनि समेटिएको चर्चा गर्दै राष्ट्रिय जनगणनाबाट यकिन तथ्यांक सार्वजनिक हुने आसा लिएको बताए ।
नेपाल हेमोफिलिया सोसाइटीका महासचिव दिपक न्यौपाने जनगणनामा घरदैलोमा आउने सुपरिवेक्षक एवं गणकहरुलाई हेमोफिलिक व्यक्तिको बारेमा यकिन विवरण दिन अभिभावक समक्ष आग्रह गरे ।
अहिलेसम्म ७ सय ५० जना हेमोफिलिक व्यक्तिको पहिचान भएको हेमोफिलिया सोसाईटीले जनाएको छ । नेपलमा झण्डै ३ हजार हेमोफिलिकहरु रहेको अनुमान छ ।
सोसाइटीका उपाध्यक्ष मुकुन्दमणि घिमिरे हेमोफिलिया भएका व्यक्तिहरुको रोगको पहिचान हुन नसक्दा धामिझाँक्री समक्ष उपचार गराउन जाने गरेको बताए । ‘राष्ट्रिय जनगणनामा हेमोफिलिक व्यक्तिको वास्तविक तथ्यांक सार्वजनिक हुन सके उपचार व्यवस्थापनमा सहयोग पुग्ने थियो,’’ उनले भने ।


