काठमाडौँ । नेपालमा आधुनिक उच्च शिक्षा तथा प्राविधिक शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुर्याएका काठमाडौँ विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ।
धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा बुधबार साँझ ६:५० बजे शर्माको निधन भएको काठमाडौँ विश्वविद्यालयका उपकुलपति विवेक बरालले जानकारी दिए।
शर्माको पार्थिव शरीर बिहीबार बालकुमारीस्थित काठमाडौँ विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा श्रद्धाञ्जलीका लागि राखिनेछ। सोही दिन उनको अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ।
वि.सं. १९९७ साउनमा सिन्धुलीको खुर्कोटमा जन्मिएका शर्माको प्रारम्भिक शिक्षा घरमै संस्कृतबाट सुरु भएको थियो। वि.सं. २००८ मा सिन्धुलीगढीमा स्थापित विद्यालयबाट औपचारिक शिक्षा सुरु गरेका उनले जनकपुरधाम र काठमाडौँ हुँदै भारतको कर्णाटक विश्वविद्यालयबाट एमएस्सी उत्तीर्ण गरेका थिए।
उनले त्रिचन्द्र क्याम्पसमा करिब सात वर्ष अध्यापन गरेपछि छात्रवृत्तिमा बेलायत गएर रसायनशास्त्रमा पीएचडी गरेका थिए। स्वदेश फर्किएपछि उनलाई तत्कालीन राष्ट्रिय शिक्षा समितिको सदस्य–सचिवको जिम्मेवारी दिइएको थियो। तीन वर्षका लागि नियुक्त भए पनि विशेष आग्रहका कारण उनले साढे १० वर्षसम्म समितिमा रहेर काम गरेका थिए।
नेपालमा प्राविधिक शिक्षाको विस्तारमा शर्माको महत्वपूर्ण योगदान रहेको मानिन्छ। तत्कालीन राजा वीरेन्द्रको आग्रहमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) स्थापना भएपछि उनी संस्थापक निर्देशक बनेका थिए। उनको नेतृत्वमा जुम्ला, दोलखाको जिरी र धनकुटालगायत दुर्गम क्षेत्रमा प्राविधिक शिक्षाको विस्तार गरिएको थियो। उनले बुढानीलकण्ठ स्कुलको अध्यक्षका रूपमा समेत सेवा गरेका थिए।
नेपालमा गुणस्तरीय उच्च शिक्षा विकास गर्ने र त्यसमा निजी क्षेत्रको समेत सहभागिता बढाउने उद्देश्यसहित वि.सं. २०४८ मा शर्माको नेतृत्वमा काठमाडौँ विश्वविद्यालय स्थापना भएको थियो। धुलिखेललाई मुख्य केन्द्र बनाएर वि.सं. २०५० देखि पठनपाठन सुरु गरेको केयूले उनको नेतृत्व र मार्गदर्शनमा इन्जिनियरिङ, कम्प्युटर, फार्मेसी तथा वातावरण विज्ञानलगायतका विषयमा अध्ययन–अध्यापन विस्तार गरेको थियो।
शर्माले काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका रूपमा लगातार छ कार्यकाल, कुल २१ वर्ष नेतृत्व गरेका थिए। उनको नेतृत्वमा विश्वविद्यालयले नेपालमा उच्च शिक्षाको नयाँ शैक्षिक अभ्यास र प्राविधिक विषयको विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।
आफ्नो जन्मथलो सिन्धुलीमा समेत उनले प्राविधिक शिक्षालय स्थापना गरेका थिए।
शिक्षा क्षेत्रप्रति लामो समय समर्पित शर्माको निधनले नेपालको उच्च तथा प्राविधिक शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका एक अग्रणी शिक्षाविद् गुमाएको छ।


