अफगानिस्तानबाट सर्वसाधारणलाई निकालिने प्रक्रिया अब आफ्नो अन्तिम चरणमा प्रवेश गरेको र काबुल विमानस्थलमा लगभग एक हजार नजिक सर्वसाधारण भएको जसलाई अमेरिकी सैनिकभन्दा अघि नै उद्धार गरिने बताइएको छ ।
अफगानिस्तानका नयाँ शासक विमानस्थलको जिम्मेवारी लिनका लागि तयार भएको पनि खबर छ ।
एक सुरक्षा अधिकारीले नाम नबताउने शर्तमा समाचार एजेन्सी रोयटर्सलाई बताए अनुसार उद्धार अभियानको अन्तिम समयका लागि अहिले नै कुनै निर्णय लिइसकिएको छैन ।
तर अमेरिकाका राष्ट्रपति जो बाइडेनले पहिले नै उनको फौज ३१ अगस्टको समयसीमामा कायम भएको बताइसकेका छन् ।
काबुल विमानस्थलमा तैनाथ यी सुरक्षा अधिकारीले रोयटर्सलाई भने, ‘हामी सबै विदेशी नागरिक र जोखिमा भएका मानिसहरुलाई आज नै यहाँबाट निकाल्न चाहन्छौं । सैनिकलाई त्यसपछि मात्रै उडाइनेछ ।’
यसअघि एक अमेरिकी अधिकारीले शनिबार रोयटर्ससँगको कुराकानीमा विमानस्थलमा अब ४ हजारभन्दा कम सैनिक भएको बताएका थिए ।


