मानिसको मेरुदण्डको हड्डीहरुका एक अर्कामा जोडिएका हुन्छन् । माथिदेखि तलसम्म सर्भाइकल स्पाइनमा कुल ७ वटा हड्डी हुन्छ । थोर्यासिक स्पाइनमा १२ वटा हड्डी हुन्छ । भने लुम्बर स्पाइनमा ५ वटा हड्डी हुन्छ । यसको तल स्याक्रम र कक्सिक्स हुन्छ । यी हड्डीहरुको बीचमा कुशन हुन्छ । जुन मुलायम पदार्थले बनेको हुन्छ । जसलाई डिस्क भनिन्छ । यसले दैनिक क्रियाकलापका क्रममा हिँड्दा, उकालो ओरालो गर्दा, घुम्दा हड्डीहरुलाई एक आपसमा ठोक्किँनबाट बचाउँछ । डिस्कले मेरुदण्डको हड्डीहरुमा कुनै पनि प्रकारको झट्का लाग्नबाट बचाउँछ ।
मेरुदण्डमा डिस्कको दुई भाग हुन्छ । एउटा नरम हुन्छ जुन भित्रि भागमा हुन्छ भने बाहिरी भागमा कडा किसिमको भाग हुन्छ । कहिलेकाँही दुर्घटना वा कमजोरीका कारण भित्रि भागमा रहेको नरम पदार्थ बाहिरको कडा भाग छेडेर बाहिर निस्किन्छ । मेडिकल भाषामा यसलाई स्लिप डिस्क भनिन्छ । यस्तो अवस्थामा अत्यधिक दुखाई हुने हुन्छ । यसको समयमै उपचार भएन वा उपचार सम्भव भएन भने शल्यक्रिया गर्नुपर्ने हुन्छ ।
स्लिप डिस्क गर्दनदेखि कम्मरको तल्लो भागसम्म हुनसक्छ । यस्तो अवस्थामा नसा र मेरुदण्डको आसपासका मांसपेशीहरुमा धेरै दबाब पर्छ ।
यो समस्यामा शरीरको कुनै एक भागमा दुख्ने, झम्झमाउने हुनसक्छ । हात र गोडामा पनि दुखाई फैलिन सक्छ । यस्तो अवस्थामा दुखाई रातिमा बढी हुन्छ । उठ्दा र बस्दा दुखाई बढी हुन्छ । मांसपेशीहरु कमजोर हुने, झम्झमाउने, दुख्न, पोल्ने आदि हुन्छन् ।
स्लिप डिस्क बढी उमेरका मानिसमा बढी देखिन्छ । यसका साथै, अचानक घुम्ने, सामानहरु उठाउने गर्दा पनि स्लिप डिस्क हुनसक्छ । भारी सामान उठाउँदा कम्मर दुख्नु पनि यसको संकेत हुनसक्छ । यस्तै, मोटोपन भएका व्यक्तिहरुमा पनि यो समस्या आउँछ ।


