नेकपा माओवादी केन्द्रले जिम्मेवारी बाँडफाँड गरेको छ। माओवादी केन्द्रले परिपत्र जारी गर्दैं केन्द्रीय विभाग, प्रदेश इञ्चार्ज, सहइञ्चार्ज तथा जनवर्गीय संगठनका इञ्चार्जहरु तोकेको जानकारी दिएको छ।
माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठसँग रहेको पार्टी प्रवक्ताको जिम्मेवारी कृष्णबहादुर महरालाई दिएको छ। यस्तै संगठन विभागको जिम्मेवारी सरकारका अर्थमन्त्री समेत रहेका जनार्दन शर्मालाई दिएको छ।माओवादी केन्द्रले सातवटै प्रदेश इञ्चार्जको जिम्मेवारी पनि छुट्याएको छ। प्रदेश १ को इञ्चार्ज सुरेन्द्र कार्की, प्रदेश २ को इञ्चार्ज गणेश शाह, बागमती प्रदेशको इञ्चार्ज हितमान शाक्य, गण्डकी प्रदेशको इञ्चार्ज हितराज पाण्डे, लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणी खनाल ‘बलदेव’, कर्णाली प्रदेश इञ्चार्ज शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेश इञ्चार्ज खगराज भट्टलाई बनाइएको छ।
उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृका यादव, कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, संघीय संसदीय विभाग प्रमुखमा देव गुरुङ र जलस्रोत सिंचाइ तथा ऊर्जा विभागको प्रमुखमा लिलामणि पोखरेललाई जिम्मेवारी दिएर पठाइएको छ।
युवा तथा खेलकुद विभाग प्रमुख गणेशमान पुन, राजकीय मामला तथा सुशासन विभाग प्रमुख रेखा शर्मा र खानेपानी तथा सरसफाइ विभाग प्रमुख विना मगरलाई बनाइएको छ।
नारायणकाजी श्रेष्ठले प्रवास समिति इञ्चार्ज, लिलामणि पोखरेलले विशेष समिति इञ्चार्ज र डिलाराम आचार्यले सम्पर्क समन्वय समिति इञ्चार्जको जिम्मेवारी पाएका छन्।


