काठमाडौं : छिनभरमै सिमसिमे पानीसहित कुहिरोको लुकारीमारी त छिनभरमै खुल्ने चन्द्रागिरिको अलौकिक मुहार। जताततै मनमोहक हरियाली प्रकृति। यति भएपछि के चाहियो र कवि/कलाकारहरूलाई ! कविहरू सुन्दर प्रकृतिमा विचरण गर्दै कविता सिर्जना गर्न थाले। चित्रकलाकारहरू आँखा अगाडिको मनमोहक सुन्दर प्रकृतिलाई क्यानभासमा उतार्न थाले। त्यसलगत्तै उनीहरूले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राखेर आफ्ना चन्द्रागिरि सिर्जना सुनाए, देखाए। यसरी भदौ महिनाको सुरुवातसँगै शुक्रबार चन्द्रागिरि पुगेका करिब दुई दर्जन स्रष्टा/सर्जकहरू शनिबार मध्यान्हसम्म चन्द्रागिरिको सुन्दर सानिध्यमा रहे।
राजनीतिक व्यस्तताका बिच सामाजिक अभियन्ता तथा लेखिका पत्नी राधिका शाक्यका साथमा कवि/कलाकारहरूका सिर्जना सुन्न तथा हेर्न चन्द्रागिरि पुगेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको मन पनि कविता नलेखी बसिरहन सकेन। उनले कार्यक्रम स्थलमै बसेर कविता सिर्जना गरेर सुनाएका थिए।
इच्छुमतिको किनार, घुमेर भिराडिल
घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल,
कतै इतिहास, कतै परम्परा गौरव र पौरख
यहीँका डाँडाहरूमा सतीदेवी काँधमा बोकेर
शोकमग्न शिवजी भौतारिएका थिए
यही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिले
चित्लाङबाट गोपालीहरू उपत्यका पसेका थिए
यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर
सुन्दर काठमाडौंलाई नियालेका थिए…
त्यहीँ पर फाखेलको धारामा
देवकोटाले मानवताको बिगुल फुकेका थिए….।
यसरी रैथाने कला, संस्कृति, सम्पदा र सभ्यताको खोजी तथा सिर्जनामा तिनको प्रयोगसम्बन्धी अभियान चलाइरहेको ‘जेसुम अभियान’ले चन्द्रागिरि नगरपालिका–१५ वडासँगको सहकार्यमा चन्द्रागिरि हिल्समा आयोजना गरेको ‘भिराडील–चन्द्रागिरि जेसुम उत्सव’ कविता तथा कलामय बन्यो। नृत्याङ्गना संगीता लामाको मनमोहक स्वागत–नृत्यबाट सुरु भएको उक्त उत्सवमा पूर्वप्रधानमन्त्री ओलीसहित प्रगतिशील लेखक संघका अध्यक्ष प्रा.डा. जिवेन्द्रदेव गिरि, वासुदेव अधिकारी, प्राज्ञ लक्ष्मी माली, प्राज्ञ शशी लुमुम्बू, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल, अनिता लामा, सुरेश हाचेकाली, स्नेह सायमी, प्रकाश सिलवाल, प्रशान्त डंगोल, गणेश बुढा, श्रुति माली, सगरमाथा आरोही देउराली चाम्लिङलगायतका कविहरूले आ–आफ्ना सिर्जना बाचन गरेका थिए, कला प्रस्तुत गरेका थिए। श्रुति मालीले त आकर्षक नृत्यसमेत प्रस्तुत गरेकी थिइन्।
चित्रकलाकारहरू प्राज्ञ लालकाजी लामा, नेमबहादुर तामाङ, एनबी गुरुङ, दीपेन्द्र बनेपाली, बाबु साइँला, विनिता बुद्धाचार्य, चन्द्रा श्रेष्ठ र रूपा श्रेष्ठले स्थलगत रूपमा सिर्जना गरेका कलाकृति कार्यक्रम हलमै प्रदर्शनी गरिएको थियो। मण्डला थिएटरका कलाकार राजन खतिवडा र सरस्वती चौधरीले चौतारी नाटक प्रस्तुत गरेका थिए।
उत्सवका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री ओलीले कविहरूका काव्यसिर्जना र कलाकारहरूका कलाकृतिको उच्च प्रशंसा गर्दै आफ्ना कविता र कलाकृतिमार्फत सामाजिक रूपान्तरण र मुलुकको समृद्धिका लागि योगदान गर्नु प्रशंसनीय कार्य भएको बताए। उनले अरूका रचना सुनेपछि आफूमा अझ समृद्ध नेपालका लागि आत्मविश्वास बढेको बताउँदै समाज निस्सासिएका बेला आफूलाई सामाजिक र राजनीतिक अभियान सुरु गर्दा सुरुङको पछिल्लो छेउमा पक्कै उज्यालो हुनुपर्छ भन्ने आशा लागेको र अहिले यस अभियानमा धेरै अभियानकर्मी सहभागी भइसकेकामा खुसी लागेको बताए।


