Monday, April 20, 2026
Homeप्रवासअमेरिकाडा. केसी र आचार्यलाई रविनाको चुनौती : मैदानमा आउनुहोस्, जसले जित्छ उसलाई...

डा. केसी र आचार्यलाई रविनाको चुनौती : मैदानमा आउनुहोस्, जसले जित्छ उसलाई शुभकामना दिऊँ

२ भदौ, बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष रविना थापाले आगामी नेतृत्वको लागि चुनावी मैदानमा आउन अन्य दुई प्रत्यासीहरुलाई चुनौती दिएकी छिन्।

अमेरिका निवासी थापाले अध्यक्षका प्रत्यासीद्वय डा. बद्री केसी र कुल आचार्यलाई चुनावी मैदानमा तयार हुन चुनौती दिएकी हुन् ।

अनलाइनखबरसँग कुरा गर्दै उनले आफ्नो उम्मेदवारी पक्का रहेको भन्दै कुनै पनि हालतमा पछि नहट्ने उनले बताइन् । ‘अरु दुई जना चुनावमा आए पनि म आफूले चुनाव जित्छु भन्ने आत्मबल छ । आउनुहोस् मैदानमा चुनाव लडौं । जसले जित्छ उसलाई शुभकामना दिऊँ’ थापाले भनिन् ।

उनले आफूले चुनाव जितेमा संघको इतिहासकै पहिलो महिला नेतृ बन्दै काम गरेर प्रमाणित गर्ने बताइन्।

तपाईंको उम्मेदवारी पक्का हो कि अन्त्यमा फिर्ता लिनुहुन्छ भन्ने जिज्ञासामा उनले थपिन्, ‘मेरो उम्मेदवारी फिर्ता लिनका लागि होइन। त्यसमा शतप्रतिशत ढुक्क हुनुहोस् । पछि हट्ने कुनै पनि सम्भावना नै छैन ।’

उनले गत अधिवेशनमा उपाध्यक्षहरुमा सबैभन्दा बढी मत मात्र नभई अध्यक्षको भन्दा पनि बढी मत आएको भन्दै यसपटक अध्यक्ष बन्न गैरआवासीय नेपालीहरुले सुझाव दिएको बताइन्। ‘महिलाहरु पनि सक्षम भइसकेका छौं । १८-२० वर्ष एनआरएनको दौरानमा धेरै दाजुभाइहरुले बढी राजनीति गर्नुभयो । अब पालो महिलाको हो’ थापाले भनिन् ।

आफ्ना प्रतिबद्धताहरु छिट्टै सार्वजनिक गर्ने बताउँदै उनले मध्यपूर्वमा श्रमिकहरु तथा घरेलु महिला हिंसाका घटनाबारे सरकारले पहलकदमी चाल्नुपर्ने बताइन् । आफू नेतृत्वमा पुगे एनआरएन नागरिकता, सामूहिक लगानी लगायतका विषयमा पहलकदमी चाल्ने प्रतिबद्वता व्यक्त गरिन्।

जनसम्पर्क समितिको आधिकारिक उम्मेदवार को ?

अध्यक्षकी प्रत्यासी थापाले कांग्रेस नेताहरुको शुभेच्छा आफूलाई रहेको दाबी गरिन् । नेपाली जनसम्पर्क समिति जापानको संस्थापक तथा अमेरिकाको संस्थापक सदस्यमा रही काम गरेको भन्दै उनले भनिन्, ‘संस्थामा कोही पनि आधिकारिक उम्मेदवार हुँदैनन्। तर शुभेच्छा हुन्छ ।’

आफू जत्तिको जनसम्पर्क समितिको नजिकको व्यक्ति अरु हुनै नसक्ने उनको दाबी थियो। ‘कांग्रेसकै कुरा गर्नुहुन्छ भने म कांग्रेस परिवारको मान्छे । पार्टीकै कुरा गर्नुहुन्छ भने म जत्तिकै बलियो र निकटको मान्छे अरु हुनै सक्तैन’, उनले भनिन् ।

कांग्रेसले नेपाली जनसम्पर्क समितिको आधिकारिक उम्मेदवार कुल आचार्य भन्दै निर्णय गरेको प्रसंगबारे अनलाइनखबरको जिज्ञासामा थापाले स्पष्ट पारेकी हुन्।

उनले प्रजातान्त्रिक समूह बनाएर चुनावमा जाने बताइन्। ‘कुलजी एकपटक अध्यक्षमा उठिसक्नु भयो । मलाई विश्वास छ उहाँ यसपटक मेरो प्रस्तावक बन्नुहुनेछ। धेरै साथीहरुलाई समेटेर एउटा मजबुत टिमको तयारी गरिरहेका छौं’ थापाले भनिन्।

उता आचार्यको समूह भने आफ्नो समूह निर्माणको अन्तिम तयारीमा पुगिसकेको छ।

कसैले प्रयोग गर्न सक्तैन, म आफ्नै स्ट्याण्ड लिएर लड्ने मान्छे हो

आचार्य समूहलाई हराउन डा. बद्री केसी समूहको रणनीतिमा तपाईंले उम्मेदवारी दिएको आरोप छ नि ? भन्ने प्रश्नमा उनले आफू आफ्नै स्ट्याण्डमा लड्ने मान्छे रहेको बताइन्। ‘यो मलाई अगाडि बढ्न नदिनको लागि मात्रै हो । कमजोर मान्छेले मात्रै अरुलाई आरोप लगाउँदै हिंड्छ।’

संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा थापाले कुल आचार्य समूहबाट नै महिला उपाध्यक्षमा चुनाव जितेकी थिइन्। तर आउँदो अक्टोबरमा हुने संघको दशौं महाधिवेशनमा कांग्रेस निकट ठानिएका आचार्य र थापा दुवै चुनावी मैदानमा उत्रिए एमाले निकटका उम्मेदवार डा. केसीलाई फाइदा पुग्ने गैरआवासीय नेपालीहरुको आकलन छ ।

डा. केसी, आचार्य र थापाले उम्मेदवारी दिएमा एनआरएनको आगामी नेतृत्वका त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका