Friday, May 1, 2026
Homeकला/साहित्यसंरक्षित छन् महान् साहित्यकारका घर

संरक्षित छन् महान् साहित्यकारका घर

रवीन्द्रनाथ टेगोर
कोलकातास्थित रवीन्द्रनाथ टेगोरको पुख्र्यौली घर ‘जोरासन्को ठाकुरबारी’ नामले चर्चित छ। पहिलो एसियाली नोबेल पुरस्कार विजेता, कवि एवं कलाकार टेगोरको जीवन र काम सोही घरमा संग्रहित छ। सन् १७८५ मा बनेको उक्त घर ३५ हजार वर्ग मिटरमा फैलिएको छ। रवीन्द्रनाथको जन्म र उनको अन्तिम पल त्यही घरमा बितेको थियो। त्यही घरमा रहेको तीनवटा ग्यालरीमा उनका नजिकका पारिवारिक सदस्यका तस्बिरहरू, उनको पोट्रेट तस्बिर र टेगोरको एक दार्शनिक कविका  रूपमा भएको विकासक्रमका तस्बिर राखिएका छन्।

विलियम सेक्सपियर 
विश्वचर्चित नाटककार विलियम सेक्सपियर बेलायतको स्ट्रयाटफोर्डस्थित घरमा सन् १५६४ मा जन्मिएका थिए। सन् १६०१ मा उनको बुवाको मृत्यु भएपछि विलियमले बाबुको घर अंशमा पाए। सन् १६१६ मा विलियमको मृत्युपछि उक्त घर उनको छोरी सुसन्नको नाममा गयो। सुसन्नको मृत्युपछि घर उनको छोरी एलिजाबेथको भयो। एलिजाबेथले दुई पटक विवाह गरे पनि उनको कुनै सन्तान भएन। त्यसैले सन् १६७० मा उनको मृत्युपछि उक्त घर उनको फुपू जोन हर्टको नाममा पुग्यो। उक्त घरलाई हर्टले सन् १८०६ मा एउटा मासु पसले थोमस कोर्टलाई बेचिदिइन्। सन् १८४६ मा घरलाई पनि बिक्रीमा राखियो।

एक लिलामीमा सेक्सपियरका सम्पत्तिलाई सन् १८४७ मा सेक्सपियर बर्थप्लेस ट्रस्टले ३ हजार पाउन्डमा किन्यो। १६औं सताब्दीको आधा काठको उक्त घर स्ट्रयाटफोर्ड अपन एभोनमा छ। विश्वभरका साहित्यप्रेमीका लागि सेक्सपियरको उक्त घर एक पवित्र धार्मिकस्थल बन्न पुगेको छ।

चार्ल्स डिकेन्स
१९औं सताब्दीका एक प्रभावशाली लेखकका रूपमा परिचित चाल्र्स डिकेन्सको नामका स्थापित चाल्र्स डिकेन्स संग्रहालय लन्डनको ४८ डगटी स्ट्रिटमा अवस्थित छ। उक्त घरलाई सन् १९२३ मा भत्काउने धम्की दिइए पनि डिकेन्स फेलोसिपले त्यसलाई संरक्षण ग¥यो। एक स्वतन्त्र कोषको तर्फबाट उक्त घरलाई जीर्णाेद्वार गरेर डिकेन्स हाउस म्युजियमको रूपमा सन् १९२५ बाट खुला गरियो।

लियो टोल्सटोय
मस्कोमा रहेको लियो टोल्सटोयको घरमा पुग्दा जोकोहीलाई त्यहाँ उनको आत्मा अझै जीवित छ भन्ने महसुस हुन्छ। आफ्नी पत्नीको बारम्बारको आग्रहमा उनी पोलयानाको पुख्र्यौली घरबाट  मस्कोको घरमा सरेका थिए। सोही घरमा आएपछि उनको जीवनको सिद्धान्तमै परिवर्तन आएको थियो। खामोभनिकी जिल्लामा रहेको उनको घरमा उनले जीवनकै लामो समय २१ वर्ष बिताए। उनको जीवन र सिर्जनात्मक कामहरू बुझ्न संग्रहालयका रूपमा घरलाई जोगाइएको छ।

जेन अस्टिन
बेलायती लेखक जेन अस्टिनको संग्रहालयको रूपमा संरक्षण गरिएको घर ह्याम्पसायरको चटन गाउँमा छ। १७औं सताब्दीको उक्त घरलाई चटन कटेज पनि भनिन्छ। उक्त घरमा उनले जीवनको अन्तिम आठ वर्ष बिताएकी थिइन्। उक्त संग्रहालयमा अस्टिनको आठवटा संगीत पुस्तक, उनको पियानो, उनी र उनका परिवारको फर्निचर, उनका गहना, उनका किताबहरू संग्रहित छन्।

अगाथा क्रिस्टी
लेखक अगाथा क्रिस्टीले आफ्नो घर ग्रिनवेलाई संसारको सबैभन्दा प्यारो ठाउँ बताएकी छन्। सन् १४९०को उक्त घर डार्ट नदीको किनारमा अवस्थित छ। हाल राष्ट्रिय कोषको संरक्षणमा रहेको घरले उनको परिवारको कैयौं पुस्ताका विशेषता झल्काउँछ। ‘क्विन अफ क्राइम’को रूपमा चर्चित यी लेखकले आफ्ना तीनवटा उपन्यास ‘फाइभ लिटिल पिग्स’, ‘डेड म्यान फोल्ली’ र ‘अर्डियल बाइ इनोसेन्स’ सोही घरमा सिर्जना गरेकी हुन्। यसको भित्री भागको ऐतिहासिक सजावट, विभिन्न जातजातिका बोटबिरुवा रहेको बगैंचा निकै आकर्षक छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका