काठमाडौं । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार असोज ९, १० र ११ गते नेपालका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ।
यस अवधिमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङसमेत पर्ने सम्भावना रहेको विभागले जनाएको छ। भारी वर्षाका कारण बाढी, पहिरो, डुबान, नदी कटान तथा हिमपहिरोको जोखिम बढ्नुका साथै सडक, विद्युत् र सञ्चार सेवा प्रभावित हुन सक्ने बताइएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै शिक्षा तथा खेलकुद मन्त्रालयले सबै शिक्षण संस्था, स्थानीय तह, शिक्षक, विद्यार्थी तथा अभिभावकलाई पूर्वतयारीसहित सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ।
मन्त्रालयले विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै असोज ८ र ९ गते स्थानीय तहसँग समन्वय गरी आवश्यकताअनुसार विद्यालयमा बिदा दिन निर्देशन दिएको छ।
त्यस्तै, असोज ९ देखि ११ गतेसम्म सञ्चालन हुने तय भएका विश्वविद्यालय तथा अन्य निकायका परीक्षासमेत आवश्यकताअनुसार स्थगित गर्न मन्त्रालयले आग्रह गरेको छ।
विपद्को अवस्था सिर्जना भई सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्ने भएमा स्थानीय तहलाई आवश्यक सहजीकरण गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ।
मन्त्रालयले अभिभावकलाई आफ्ना बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका क्षेत्रमा जान नदिन विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव श्रीप्रसाद भट्टराईद्वारा जारी सूचनामा सम्भावित विपद्लाई लिएर त्रसित हुनुभन्दा आवश्यक सावधानी अपनाउँदै पूर्वतयारीमा जुट्न सबै सरोकारवालालाई आग्रह गरिएको छ।



