काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जाडोयाममा विद्युत आपूर्ति सहज र सन्तुलित बनाउन आवश्यक गृहकार्य भइरहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि करिब १० प्रतिशत विद्युत् प्रणालीबाट बाहिर गएको बताए। यसले राष्ट्रिय प्रसारण प्रणालीमा चाप परेको भए पनि नेपाल विद्युत् प्राधिकरणले प्रसारण प्रणालीलाई सन्तुलित राखिरहेको उनको भनाइ छ।
उनले जाडोयाममा विद्युत् माग बढ्ने भएकाले सम्भावित जोखिम पहिचान गरी आपूर्ति व्यवस्थापनका लागि प्राविधिक तयारी भइरहेको जानकारी दिए।
‘अब जोडिने प्रसारण लाइन कस्तो छ, अरू ठाउँमा पनि सम्भावित रूपमा जोखिम छ कि छैन र त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको छ। जाडो महिनामा पनि अहिले जस्तै विद्युत् आपूर्तिलाई सन्तुलित राख्न हामीले गृहकार्य गरिरहेका छौँ,’ उनले भने।
प्रसारण लाइनबाट केही विद्युत् प्रणाली बाहिर रहेकाले आगामी दिनमा आपूर्तिमा समस्या आउन सक्ने अवस्थालाई ध्यानमा राखेर तयारी भइरहेको मन्त्री श्रेष्ठले बताए।
‘जाडो महिनामा विद्युत्को माग धेरै हुँदो रहेछ। खासगरी दुई महिनामा माग उच्च हुन्छ। त्यसका लागि आवश्यक गृहकार्य भइरहेको छ,’ उनले भने।
मन्त्री श्रेष्ठले नुवाकोटमा बाढीका कारण अवरुद्ध भएको विद्युत् सेवा २४ घण्टाभित्रै पुनः सञ्चालन गरिएको जानकारी दिए। रसुवामा पनि हालै विद्युतीकरण विस्तार गरिएको उल्लेख गर्दै उनले आगामी सुख्खायाममा विद्युत् आपूर्ति व्यवस्थापनका लागि प्राविधिक रूपमा तयारी भइरहेको बताए।


