सिरहा । भारतबाट हुने मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवको हत्या प्रकरणका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ परेका छन्। मुख्य अभियुक्त पक्राउ परेसँगै लामो समयदेखि न्यायको प्रतीक्षामा रहेका पीडित परिवारमा पुनः आशा जागेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार २०८१ मंसिर १६ गते बिहान बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा क्षेत्रमा मदिरा तस्करी नियन्त्रणका लागि खटिएका सई यादवलाई टाटा सफारी गाडीले ठक्कर दिएको थियो। गम्भीर घाइते यादवको उपचारका क्रममा मृत्यु भएको थियो।
बिओपी बडहरी बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले ड्युटीका क्रममा उक्त गाडी रोक्न खोज्दा चालकले प्रहरीलाई ठक्कर दिएर फरार भएका थिए। घटनापछि प्रहरीले अभियुक्तको खोजी गरिरहेको थियो।
घटनाको २२ महिनापछि प्रहरीले भारतको बिहारस्थित मधुवनी जिल्लाका ३७ वर्षीय मोहम्मद कुरवान मंसुरीलाई शुक्रबार सीमा क्षेत्रबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार कुरवान घटनामा प्रयोग भएको टाटा सफारीका धनी तथा चालक हुन्।
इलाका प्रहरी कार्यालय महेशपुरपतारका प्रहरी निरीक्षक विशाल मल्लको कमान्डमा खटिएको प्रहरी टोलीले कुरवानलाई नियन्त्रणमा लिन खोज्दा अभियुक्त पक्षबाट प्रहरीतर्फ एक राउन्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले जवाफी कारबाहीमा तीन राउन्ड गोली चलाएको थियो।
प्रहरीको गोली लागेर कुरवानको बायाँ हात र दाहिने खुट्टामा चोट लागेको छ। घाइते उनको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
मुख्य अभियुक्त पक्राउ परेपछि मृतक सई यादवका दाइ पाण्डव यादवले परिवारको न्यायप्रतिको आशा पुनः जागेको बताए। उनले भने, ‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो। तर २२ महिनापछि मुख्य अभियुक्त पक्राउ परेकाले फेरि न्यायको आशा जागेको छ।’
यादवका सालो रञ्जित यादवले प्रहरीको हत्या जस्ता घटनाले नागरिक र प्रहरीबीचको विश्वासमा असर पार्ने भन्दै घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेका छन्।
यसैबीच, शनिबार जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठक र सशस्त्र प्रहरीका एसपी सुमनजंग थापासहितको टोली मृतक यादवको घर पुगेर पीडित परिवारसँग भेट गरेको थियो।
भेटका क्रममा एसपी पाठकले घटनामा संलग्न अर्का एक फरार अभियुक्तको समेत खोजी भइरहेको र उनलाई पनि चाँडै कानुनी दायरामा ल्याएर परिवारलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


