काठमाडौं । इस्ताम्बुलबाट ट्युनिसियातर्फ उडेको टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा भीषण आँधी र खतरनाक टर्बुलन्समा फसेपछि यात्रुहरूबीच त्रास फैलिएको छ।
सेप्टेम्बर १० मा भएको उक्त घटनामा विमानले ट्युनिस–कार्थेज इन्टरनेसनल एयरपोर्टमा अवतरण गर्ने प्रयास गरेको थियो। तर, खराब मौसमका कारण अवतरण कठिन भएपछि विमान पटक–पटक तीव्र रूपमा हल्लिएको थियो। विमान हल्लिएपछि यात्रुहरू डराएर चिच्याउन थालेका थिए।
उक्त उडानमा आमासँगै यात्रा गरिरहेकी मारिना म्यास्कायाले घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्। भिडियोमा यात्रुहरूले सिट समातेर बसेको र विमानभित्र चिच्याहट सुनिएको देखिन्छ।
म्यास्कायाका अनुसार उडानका क्रममा सुरुमा सबै कुरा सामान्य थियो। तर, विमान अवतरणका लागि तल झर्न थालेपछि समस्या सुरु भयो। पाइलटले खराब मौसमका बीच ट्युनिस–कार्थेज विमानस्थलमा तीन पटक अवतरणको प्रयास गरेका थिए।
उनका अनुसार प्रत्येक प्रयासमा विमान अत्यधिक हल्लिएको थियो। तेस्रो प्रयासका क्रममा विमान केही क्षण अचानक तल खसेजस्तो महसुस भएपछि यात्रुहरूबीच रुवाबासी र चिच्याहट मच्चिएको थियो।
खराब मौसमका कारण विमानले केही समय आकाशमै चक्कर लगाउनुपरेको थियो। ट्युनिस–कार्थेज विमानस्थलमा सुरक्षित अवतरण सम्भव नभएपछि विमानलाई अर्को विमानस्थलतर्फ मोड्ने निर्णय गरिएको थियो।
त्यसपछि विमानलाई ट्युनिसबाट करिब ६० माइल दक्षिणमा रहेको एनफिधा–हम्मामेट इन्टरनेसनल एयरपोर्टतर्फ डाइभर्ट गरिएको थियो। विमान त्यहाँ सुरक्षित रूपमा अवतरण गरेको थियो।
घटनामा कुनै यात्रु घाइते भएको खबर छैन। यद्यपि, भीषण मौसम, तीव्र टर्बुलन्स र पटक–पटक अवतरणको प्रयास असफल भएपछि उक्त उडान यात्रुहरूका लागि निकै डरलाग्दो बनेको थियो।


