Monday, September 14, 2026
Homeसामाचारभोटेकोशी बाढीले पाँच जना बेपत्ता भएपछि थपुवागाउँमा तीजको रौनक हरायो

भोटेकोशी बाढीले पाँच जना बेपत्ता भएपछि थपुवागाउँमा तीजको रौनक हरायो

बाँके । भोटेकोशी बाढीमा गाउँका पाँच जना बेपत्ता भएपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवागाउँ शोकमा डुबेको छ । हरेक वर्ष तीजको अवसरमा मादलको ताल, गीत–सङ्गीत र नाचगानले गुञ्जायमान हुने गाउँमा यस वर्ष भने चाडपर्वको कुनै रौनक छैन ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीमा थपुवागाउँका पाँच जना बेपत्ता भएका हुन् । रसुवा भन्सार कार्यालय, टिमुरे क्षेत्रमा रोजगारीका लागि पुगेका ५३ वर्षीय शेरसिंह रोकाय र ५६ वर्षीया विष्णुमती रोकाय तथा उनीहरूलाई भेट्न र गोसाइँकुण्ड दर्शनका लागि पुगेका १९ वर्षीय छोरा दीपक रोकाय बाढीमा बेपत्ता भएका छन् ।

एकै परिवारका तीन जना सदस्य बेपत्ता भएपछि उनीहरूका आफन्त शोकमा छन् । बुढेसकालको सहारा मानिएका एक्ला छोरा तथा दाजु–भाउजू एकैपटक बेपत्ता भएपछि परिवारजन उनीहरू सकुशल फर्किने आशामा छन् ।

यसैगरी रोजगारीका लागि रसुवा पुगेका आराम दमाईं र उजना दमाईं पनि बाढीमा बेपत्ता भएका छन् । उनीहरूका १६ वर्षीय छोरा सुभाष नेपाली, ११ वर्षीय छोरा अश्विन र ९ वर्षीया छोरी स्मारिका आमाबुबाको पर्खाइमा छन् ।

बाढीमा पाँच जना बेपत्ता भएपछि गाउँका परिवारमा तीजको उत्साह हराएको स्थानीयवासी टेकराज जैसीले बताए । “गाउँका पाँच जना सदस्य बेपत्ता हुँदा सिङ्गो गाउँ नै पीडामा छ । यस्तो अवस्थामा तीज कसरी मनाउनु ?” उनले भने ।

स्थानीयवासीका अनुसार यस वर्ष गाउँलेले तीजका कार्यक्रम तथा तडकभडकलाई प्राथमिकता दिएका छैनन् । बेपत्ता परिवारको पीडामा साथ दिँदै उनीहरू खोजी तथा उद्धारको पर्खाइमा छन् ।

नेपालगञ्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बेपत्ताहरूको खोजीलाई निरन्तरता दिन तथा पीडित परिवारलाई आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् । विशेषगरी आमाबुबा बेपत्ता भएपछि सहाराविहीन बनेका बालबालिकाको पालनपोषण तथा शिक्षाका लागि आवश्यक सहयोग जुटाउन पहल गरिने उनले बताए ।

“यसपालिको तीजमा थपुवागाउँले गीत र नृत्यभन्दा वियोग र प्रार्थनालाई प्राथमिकता दिएको छ,” बुढाले भने, “हराएका आफन्तहरू सकुशल फर्किऊन् भन्ने आशामा गाउँवासी छन् ।”

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका