Sunday, September 13, 2026
Homeसामाचारविपद् प्रभावित क्षेत्रमा नेपाली सेनाको खोज तथा उद्धार तीव्र

विपद् प्रभावित क्षेत्रमा नेपाली सेनाको खोज तथा उद्धार तीव्र

काठमाडौं । विपद् प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनासहितको संयुक्त टोलीले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ।

आइतबार साँझ साढे ६ बजेसम्मको विवरणअनुसार नेपाली सेनाले हवाई साधनमार्फत भोटेकोशी बाढी प्रभावित विभिन्न क्षेत्रबाट ४ हजार १५७ जनाको सकुशल उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ३ हजार ८७४ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन्।

रसुवा र नुवाकोटस्थित विभिन्न जलविद्युत् आयोजनामा स्वदेशी तथा विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ। ‘कम्पोजिट क्विक रियाक्सन टिम’ तथा विदेशी विशेषज्ञ सहभागी टोलीले प्रभावित क्षेत्रमा खोजी गरिरहेको छ।

लाङटाङमा सुरुङभित्र ड्रोन परिचालन गरी खोजी गरिए पनि हालसम्म कुनै व्यक्ति फेला पर्न सकेको छैन। चिलिमे सुरुङभित्र जम्मा भएको लेदो तथा गेग्रान हटाउन एक्साभेटर र डोजर प्रयोग गरिएको छ। हालसम्म करिब ८५ मिटर सुरुङ सफा गरिएको छ। खोला वारपार गर्न नजिकै तुइन जडान गर्ने काम पनि भइरहेको छ।

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा नेपाली सेना र आयोजनाका प्रतिनिधिको संयुक्त टोलीले खोजी गरिरहेको छ। त्रिशूली–३ ‘ए’ को पावरहाउस तथा सुरुङ क्षेत्रमा पनि खोजी कार्य जारी छ।

त्रिशूली–३ ‘बी’ क्षेत्रमा तीनवटा एक्साभेटर र एउटा ब्याकहो लोडर प्रयोग गरी उत्खनन भइरहेको छ। आवासगृह रहेको गहिराइसम्म पुगेर खोजी कार्य अघि बढाइएको सेनाले जनाएको छ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी (पूर्व) का प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी जनशक्ति परिचालन गरिएको छ।

सेनाको टोलीले घाइतेको उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी, अवरुद्ध सडक खुलाउने तथा आपत्कालीन स्वास्थ्य उपचारलगायतका काम गरिरहेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका