काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आगामी असोज ६ गते अमेरिकाको न्यूयोर्क जाने भएका छन्। महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री शाह असोज ९ गते नै स्वदेश फर्किने कार्यक्रम तय भएको छ।
भोटेकोशीमा हालै आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री शाह आफैं महासभामा सहभागी हुन लागेका हुन्। महासभामा उनले नेपालमा जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिम तथा पछिल्लो बाढीबाट भएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी छ।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल महासभामा सहभागी हुने तय भएको थियो। तर, भोटेकोशी बाढीपछिको विपद् अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री शाहकै नेतृत्वमा प्रतिनिधिमण्डल न्यूयोर्क पठाउने निर्णय गरिएको हो।
प्रधानमन्त्रीको भ्रमण टोली भने संक्षिप्त हुने बताइएको छ। टोलीमा प्रधानमन्त्रीसहित करिब १० जनासम्म सहभागी रहने जनाइएको छ।


