Monday, September 7, 2026
Homeसामाचारगृह मन्त्रालयमा लागुऔषध नियन्त्रण विभाग स्थापना

गृह मन्त्रालयमा लागुऔषध नियन्त्रण विभाग स्थापना

काठमाडौं । गृह मन्त्रालयले लागुऔषध नियन्त्रण विभाग स्थापना गरेको छ। बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि मन्त्रालयको संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षणका क्रममा नयाँ विभाग स्थापना गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए।

प्रवक्ता काफ्लेका अनुसार विभाग स्थापनाको प्रक्रिया अघि बढिरहेको छ। मन्त्रालयले भदौ १८ गते ऋषिराम तिवारीलाई विभागको महानिर्देशकमा सरुवा गरिसकेको छ।

महानिर्देशक तिवारीका अनुसार नयाँ विभागका लागि कार्यालय सञ्चालन गर्ने स्थान खोज्ने काम भइरहेको छ। ‘नयाँ विभाग हो, बस्ने स्थान खोजिरहेका छौँ,’ उनले भने।

विभागका लागि एक सहसचिव, दुई उपसचिव, तीन शाखा अधिकृत, पाँच नायब सुब्बा र दुई कम्प्युटर अपरेटर गरी विभिन्न पदको दरबन्दी स्वीकृत गरिएको छ।

यसअघि गृह मन्त्रालयमा लागुऔषध नियन्त्रण शाखा मात्र रहेको थियो। उक्त शाखालाई विस्तार गर्दै विभागको स्वरूप दिइएको हो।

यसअघि शाखाले लागुऔषधसम्बन्धी नीति तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन गर्ने, लागुऔषध दुर्व्यसनीको उपचार तथा पुनःस्थापनासम्बन्धी नीति निर्धारण गर्ने, लागुऔषधको बिक्री–वितरण, ओसारपसार तथा दुरुपयोग नियन्त्रण गर्ने र सम्बन्धित गतिविधिको अभिलेख राख्ने काम गर्दै आएको थियो।

त्यस्तै, औषधि निर्माणका लागि आवश्यक लागुऔषध आयात तथा प्रयोगको अनुमति दिने, बरामद लागुऔषध नष्ट गर्ने, लागुऔषध नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिले तोकेका कार्य कार्यान्वयन गर्ने तथा दुर्व्यसनीको उपचार र पुनःस्थापनाका लागि सामाजिक संघसंस्थासँग समन्वय गर्ने जिम्मेवारी पनि शाखाले सम्हाल्दै आएको थियो।

लागुऔषधका दुष्परिणामबारे जनचेतना अभिवृद्धि गर्ने तथा प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्ने कामसमेत गर्दै आएको शाखाको कार्य क्षेत्र र जिम्मेवारी विस्तार गर्दै विभागमा स्तरोन्नति गरिएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका