काठमाडौं । आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी निजामती सेवा दिवस मनाइँदैछ।
निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विसं २०१२ भदौ २२ गतेको स्मरण गर्दै हरेक वर्ष यसै दिन निजामती सेवा दिवस मनाउने गरिएको हो।
निजामती सेवाका मूल्य–मान्यता, नैतिकता, आदर्श, सदाचारिता, चरित्र र निष्ठाजस्ता गुणको स्मरण गर्दै तिनको पालना गर्ने तथा नागरिक सेवाप्रति प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा निजामती सेवा दिवसलाई लिइन्छ।
दिवसका अवसरमा सरकारी कार्यालय तथा विभिन्न निकायले कर्मचारीको भूमिका, जिम्मेवारी र नागरिकप्रति उत्तरदायी सेवाका विषयमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन्।


