काठमाडौँ। रसुवास्थित २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।
नेपाली सेनाको उद्धार टोलीले बाढीपछि सुरुङभित्र थुनिएका ती नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो। सेनाले उद्धार गरिएका व्यक्तिको तस्वीरसमेत सार्वजनिक गरेको छ।
आयोजनाको निर्माण कार्य चिनियाँ ठेकेदार कम्पनीले गरिरहेको हुँदा उद्धार गरिएका व्यक्ति निर्माण कार्यमा संलग्न प्राविधिक वा कामदार हुनसक्ने अनुमान गरिएको छ। उनको पहिचान तथा अवस्थाबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।
यसअघि बिहीबार माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जना नेपाली कामदार सञ्जय साह र कविर महर्जनको जीवितै उद्धार गरिएको थियो।
जलविद्युत् आयोजनाका सुरुङभित्र अझै अन्य कामदार फसेको हुनसक्ने आशङ्कामा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।


