नुवाकोट । भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले धेरै परिवारका खुसी बगाएर लग्यो। यही बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका श्रमिकहरूको अवस्था अज्ञात बनेको थियो।
बाढी गएको १० दिनपछि शुक्रबार भने अँध्यारो सुरुङभित्रबाट दुई जनालाई जीवितै उद्धार गर्न सफल भएपछि आफन्त र उद्धारमा खटिएका टोलीमा आशाको सञ्चार भएको छ।
नुवाकोटको किस्पाङ–५ स्थित पावर हाउस नजिकैको सुरुङको प्रवेशद्वारमा विगत १० दिनदेखि आफन्तहरू आफ्ना प्रियजनको प्रतीक्षामा थिए। सुरुङबाट आउने हरेक आवाजमा उनीहरू आफ्ना मान्छेको पदचाप खोजिरहेका थिए भने कतिपय भगवानसँग प्रियजनको जीवनरक्षाको प्रार्थना गरिरहेका थिए।
शुक्रबार बिहान करिब ७ बजे कबिर महर्जन र सञ्जय शाहलाई सुरुङबाट जीवितै बाहिर निकालिएपछि घटनास्थलमा उपस्थित आफन्त तथा उद्धारकर्मी भावुक बने।
‘यदि उनीहरू बाँचेर आउन सक्छन् भने हाम्रा अरू आफन्त पनि पक्कै फर्किएलान्,’ स्थानीय विष्णुप्रसाद भट्टले भने। उनका अनुसार किस्पाङ–५ कै अन्य १२ जना पनि बाढीपछि बेपत्ता छन्। तीमध्ये केही पावर हाउसमा कार्यरत थिए भने केहीलाई बाढीले तटीय क्षेत्रबाट बगाएको आशंका गरिएको छ।
दुई जनाको जीवित उद्धारपछि अन्य बेपत्ताका आफन्तमा पनि आशा जागेको छ। यद्यपि शुक्रबार दिउँसो सुरुङबाट थप एक जनाको शव फेला परेपछि आफन्तमा पुनः निराशा छाएको छ। तर सुरुङभित्र अझै जीवित व्यक्ति भेटिन सक्ने आशासहित उद्धार टोलीले खोजीलाई निरन्तरता दिएको छ।
४६ जना हराइरहेको जानकारी
उद्धारमा खटिएका नेपाली सेनाका प्रमुख सेनानी गंगा बरालका अनुसार नेपाल विद्युत् प्राधिकरणबाट सुरुङमा ४६ जना हराइरहेको जानकारी प्राप्त भएको थियो।
सोही आधारमा खोजी गर्दा शुक्रबारसम्म एक जनाको शव फेला परेको र दुई जनालाई सकुशल उद्धार गरिएको उनले बताए।
उद्धार गरिएका कबिर महर्जन र सञ्जय शाहलाई उपचारका लागि काठमाडौँस्थित सैनिक अस्पताल लगिएको छ।
११ घण्टाको निरन्तर प्रयासपछि सफलता
प्रमुख सेनानी बरालसहितको टोलीले बिहीबारदेखि सुरुङभित्र करिब ११ घण्टासम्म निरन्तर खोजी गरेपछि दुई जनालाई जीवितै बाहिर निकाल्न सफल भएको हो।
बाढीका कारण सुरुङको करिब ५० मिटर भाग माटो, बालुवा र ढुङ्गाले पूर्ण रूपमा पुरिएको थियो। उक्त भाग हटाएपछि सुरुङभित्र केही खाली स्थान भेटिएको थियो। त्यसपछि उद्धार टोलीले सुरुङभित्र प्रवेश गरेर खोजी अघि बढाएको थियो।
बिहीबार रातभर मात्रै १८ जनाको टोली परिचालन गरी खोजी गरिएको थियो। कठिन परिस्थितिका बाबजुद लामो समयसम्म गरिएको प्रयासपछि सुरुङभित्र फसेका दुई जनासम्म उद्धार टोली पुग्न सफल भएको बरालले बताए।
आवाज सुनेपछि जीवित व्यक्ति रहेको पुष्टि
उद्धार टोली सुरुङभित्र करिब ५०–६० मिटर अगाडि पुगेपछि भित्रबाट मानिसको आवाज सुनेको थियो।
सुरुङ खन्दै अघि बढिरहेको अवस्थामा उद्धार टोलीको आवाज वा बत्ती देखेपछि भित्र रहेका व्यक्तिले ‘हेलो, हेलो’ भन्दै प्रतिक्रिया दिएका थिए। त्यसपछि टोलीले केही समय शान्त भएर उनीहरूको आवाज सुनेको थियो।
भित्रबाट ‘हामी छौँ’ भन्ने जवाफ आएपछि उद्धार टोलीले ‘नआत्तिनुस्, हामी आउँदैछौँ’ भन्दै उनीहरूलाई ढाडस दिएको थियो। त्यसको करिब डेढ घण्टापछि दुवै जनालाई सकुशल बाहिर निकालिएको बरालले बताए।
१० दिन सुरुङभित्रै बिताए
सुरुङबाट बाहिर निकालिएपछि दुवै जना भावुक बनेका थिए। उनीहरू रोएको बरालले बताए।
सुरुङभित्र बिस्कुटका बोक्रासमेत भेटिएकाले उनीहरूले उपलब्ध खानेकुरा खाएर १० दिनसम्म जीवन धानेको हुनसक्ने उद्धार टोलीको अनुमान छ।
दुवै जना सुरुङभित्र एउटै स्थानमा रहेका कारण केही समयको अन्तरमा बाहिर निकालिएको सेनाले जनाएको छ।
‘अरू पनि छन्’ भनेपछि खोजी तीव्र
जीवित उद्धार गरिएका व्यक्तिसँग कुराकानी गर्दा सुरुङभित्र अन्य मानिस पनि रहेको संकेत पाएपछि उद्धार टोलीले खोजीलाई थप तीव्र बनाएको छ।
दुई जनालाई जीवितै उद्धार गर्न सफल भएपछि प्रमुख सेनानी बरालले आफूलाई निकै खुसी र गर्व महसुस भएको प्रतिक्रिया दिए। अब सुरुङका बाँकी भागमा फसेका व्यक्तिको खोजीलाई प्राथमिकताका साथ अघि बढाइने उनले बताए।
विभिन्न निकायको समन्वयमा उद्धार
उद्धार कार्यमा नेपाली सेनाको विपद् व्यवस्थापन तथा इन्जिनियरिङ टोलीसँगै नेपाल विद्युत् प्राधिकरणका प्राविधिक, नेपाली सेनाका इन्जिनियर, विज्ञ तथा काठमाडौँबाट पुगेका इन्जिनियरको टोली परिचालन गरिएको छ।
सुरुङको अवस्था, पुरिएको भाग तथा उद्धारका लागि अपनाउनुपर्ने उपायबारे विज्ञहरूको सुझाव लिएर काम गर्नुपर्दा केही समय लागेको सेनाले जनाएको छ।
त्रिशूली–३ ‘ए’ को बाँधस्थल नुवाकोटको किस्पाङ–५ बाट करिब ४ हजार ७ सय मिटर टाढा रसुवाको उत्तरगयामा पर्छ। बाँधस्थलबाट सुरुङ निर्माण गरी किस्पाङ–५ मा पावर हाउस निर्माण गरिएको हो।
त्यही पावर हाउस क्षेत्रमा कामदारहरू बेपत्ता भएको निष्कर्षसहित खोज तथा उद्धार जारी राखिएको छ।
६० मेगावाट क्षमताको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा श्रमिक बेपत्ता हुनुका साथै बाढीले भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको छ।
बाढीले आयोजनासम्म पुग्ने सडक तथा पुलसमेत बगाएकाले उद्धार टोलीलाई घटनास्थलसम्म पुग्नसमेत कठिनाइ भएको थियो। खोज तथा उद्धारका लागि नेपाली सेनासहित निजी क्षेत्रका हेलिकप्टरसमेत परिचालन गरिएको छ।
सरकारी तथ्यांकअनुसार विनाशकारी बाढीबाट रसुवा र नुवाकोटमा सञ्चालित ११ वटा जलविद्युत् आयोजना नराम्ररी प्रभावित भएका छन्।


