Friday, September 4, 2026
Homeअर्थ र ब्यापारभोटेकोशी–त्रिशूली बाढीबाट प्रारम्भिक ३ खर्ब ८७ अर्बको क्षति

भोटेकोशी–त्रिशूली बाढीबाट प्रारम्भिक ३ खर्ब ८७ अर्बको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले भवन, सडक, कृषि, पशुपन्छी, बैंक तथा दूरसञ्चारलगायत क्षेत्रमा गरिएको प्रारम्भिक क्षति मूल्याङ्कनबाट उक्त क्षति देखिएको जानकारी दिए।

उनका अनुसार आगामी चार महिनाको प्रारम्भिक पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

उप्रेतीले अर्ली रिकभरीअन्तर्गत भवन तथा बस्ती पुनःस्थापना, पुल निर्माण, स्वास्थ्य तथा पोषण, शिक्षा, कृषि तथा पशुपन्छी, ऊर्जा र दूरसञ्चारलगायत क्षेत्रमा हुने खर्चको प्रारम्भिक अध्ययन गरिएको बताए।

यसैबीच, प्राधिकरणले उत्तरी चीन सीमा क्षेत्रबाट ११३ जना नेपाली र एक जना चिनियाँ नागरिक गरी ११४ जनाको सकुशल उद्धार गरिएको जनाएको छ। त्यस्तै, अन्य क्षेत्रमा सकुशल रहेका कम्तीमा २० जनाको समेत उद्धार गरिएको उप्रेतीले जानकारी दिए।

खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको बताउँदै उनले दैनिक १० देखि १२ वटा हेलिकप्टरमार्फत खोज, उद्धार तथा शव संकलनको काम भइरहेको जानकारी दिए। बाढीपछि टनेलमा फसेकाहरूको उद्धारका लागि समेत अपरेसन जारी रहेको उनले बताए।

‘टनेलको अपरेसनलाई पनि निरन्तरता दिएका छौँ। अझै पनि जीवितै उद्धार होस् भन्ने आशा र कामना गर्दछौँ,’ उप्रेतीले भने।

प्राधिकरणका अनुसार काठमाडौंलगायत विभिन्न २१ स्थान तथा थपिएका शिविरमा खाद्य तथा राहत सामग्री ढुवानी भइरहेको छ। भौगोलिक कठिनाइका कारण कतिपय प्रभावित क्षेत्रमा राहत सामग्री पुग्न नसकेको गुनासो सम्बोधन गर्न आवश्यक समन्वय र व्यवस्थापन भइरहेको प्राधिकरणले जनाएको छ।

प्रारम्भिक क्षतिको विवरणलाई थप विस्तृत क्षति मूल्याङ्कन तथा विपद्पछिको आवश्यकता मूल्याङ्कनमार्फत थप स्पष्ट पारिने उप्रेतीले बताए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका