Tuesday, November 3, 2026
Homeसामाचारभोटेकोशी बाढीबारे कूटनीतिक नियोगलाई ब्रिफिङ, ३४ देशका ५९० विदेशी बेपत्ता

भोटेकोशी बाढीबारे कूटनीतिक नियोगलाई ब्रिफिङ, ३४ देशका ५९० विदेशी बेपत्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीबाट भएको क्षति, सरकारको खोज, उद्धार तथा राहत प्रयास र विदेशी नागरिकको अवस्थाबारे नेपालस्थित कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिलाई जानकारी गराएका छन्।

बिहीबार आयोजित ब्रिफिङमा मन्त्री खनालले भदौ १० गते रसुवागढीस्थित नेपाल–चीन सीमामा भोटेकोशी नदीमा आएको बाढीलाई पछिल्लो समयको ठूलो विपत्तिका रूपमा चित्रण गरे। बाढीले केही मिनेटमै ठूलो मात्रामा पानी, लेदो र ढुंगामाटो बगाउँदा रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको उनले बताए।

मन्त्री खनालका अनुसार हालसम्म एक हजार २०४ जनाको शव फेला परेको छ भने करिब चार हजार २०० जना अझै बेपत्ता छन्। बाढीबाट ११ हजार ९९३ जनाको उद्धार गरिएकोमा ३०० भन्दा बढी विदेशी नागरिक रहेका छन्। त्यस्तै, ३४ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता रहेको उनले जानकारी दिए। खोज, उद्धार तथा पहिचानको काम जारी रहेकाले यी तथ्यांक प्रमाणीकरण भइरहेको उनले स्पष्ट पारे।

विपत्तिको पहिलो दिनदेखि नै सरकारले उद्धार, खोजी, उपचार र राहतका लागि उपलब्ध स्रोतसाधन परिचालन गरेको मन्त्री खनालले बताए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २१ हजारभन्दा बढी सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा परिचालन गरिएको उनले जानकारी दिए।

विपत्तिको जटिलता र आवश्यक विशेषज्ञताका आधारमा भारत, चीन र दक्षिण कोरियाबाट विशेष सुरुङ उद्धार टोली ल्याइएको उनले बताए। भारतको टोली लाङटाङ र चिलिमे, चीनको टोली माथिल्लो त्रिशूली–३ ए तथा दक्षिण कोरियाको टोली माथिल्लो त्रिशूली–१ मा उद्धार कार्यमा खटिएको उनले जानकारी दिए। इजरायलको टोलीले नदीको तल्लो क्षेत्रमा शव खोजी कार्यमा सहयोग गरिरहेको उनले बताए।

विदेशी नागरिकको खोजी, पहिचान तथा उनीहरूका परिवारसँग समन्वयलाई सरकारले उच्च प्राथमिकतामा राखेको मन्त्री खनालले बताए। परराष्ट्र मन्त्रालयमा स्थापना गरिएको आकस्मिक नियन्त्रण कक्ष तथा विदेशस्थित नेपाली नियोगमार्फत बेपत्ता विदेशी नागरिकका परिवारलाई प्रमाणित सूचना उपलब्ध गराउने र आवश्यक परे स्वदेश फिर्ताको व्यवस्था मिलाउने काम भइरहेको उनले जानकारी दिए।

बाढीबाट घर, सडक, पुल, जलविद्युत् आयोजनालगायत महत्वपूर्ण संरचनामा ठूलो क्षति पुगेको भन्दै मन्त्री खनालले विस्तृत क्षति मूल्यांकन भइरहेको बताए। पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक पर्ने भएकाले अन्तर्राष्ट्रिय साझेदारसँग सहयोग मागिने उनको भनाइ थियो।

नेपालले विपत्तिपछि भारत, चीन, दक्षिण कोरिया, जापान, अमेरिका लगायतका विभिन्न देश तथा संयुक्त राष्ट्रसंघ, विश्व बैंक र एसियाली विकास बैंकबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेको छ। उद्धार विशेषज्ञता, उपकरण, स्वास्थ्य तथा न्यायिक पहिचानसम्बन्धी सहयोग र आर्थिक सहायताले प्रभावित क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको मन्त्री खनालले बताए।

भोटेकोशी बाढीलाई जलवायु परिवर्तन र हिमाली क्षेत्रमा बढ्दो जोखिमसँग जोड्दै उनले जलवायु न्याय, प्रभावकारी पूर्वसूचना प्रणाली, विपद् पूर्वतयारी तथा जोखिमयुक्त संरचनाको सुरक्षित पुनर्निर्माणमा जोड दिए।

मन्त्री खनालले भोटेकोशी बाढीबाट भएको क्षति निश्चित क्षेत्रमै सीमित रहेको उल्लेख गर्दै नेपालका अन्य क्षेत्र सुरक्षित र पर्यटकका लागि खुला रहेको सन्देश सम्बन्धित देशका नागरिक तथा सरकारसम्म पुर्‍याउन कूटनीतिक नियोगका प्रतिनिधिलाई आग्रह गरे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका