Thursday, September 3, 2026
Homeसामाचारबाढी–पहिरोले मुख्य राजमार्ग प्रभावित, कृष्णभीरमा सडक पूर्ण बन्द

बाढी–पहिरोले मुख्य राजमार्ग प्रभावित, कृष्णभीरमा सडक पूर्ण बन्द

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोले मुख्य राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले बिहीबार बिहान ६:३५ बजे सार्वजनिक गरेको विवरणअनुसार राजधानी जोड्ने प्रमुख नाका तथा पहाडी जिल्लाका विभिन्न सडकमा अवरोध सिर्जना भएको छ।

काठमाडौँ–धादिङ जोड्ने चन्द्रागिरि नगरपालिका–२ चिसोपानीमा पहिरो खसेपछि सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। यस्तै, बीपी राजमार्गको काभ्रे खण्डमा बाढीको जोखिमलाई ध्यानमा राख्दै रातको समयमा १० टनसम्मका मालवाहक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइएको छ। दिउँसो भने सडकको अवस्था हेरेर मात्र सवारी सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

रसुवातर्फ जाने त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकअन्तर्गत उत्तरगया–५ खाल्टेमा बाढीले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक लामो समयसम्म अवरुद्ध हुनसक्ने जनाइएको छ।

नुवाकोटको टोखा–छहरे तथा पासाङ ल्हामु राजमार्गमा पनि बाढी र पहिरोको जोखिमका कारण रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। ती सडकका कतिपय स्थानमा भने आवागमन पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।

यस्तै, पृथ्वी राजमार्गको अवस्था पनि प्रभावित भएको छ। धादिङको कृष्णभीरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। परेवा भिरमा साना सवारी साधन एकतर्फी रूपमा सञ्चालन भइरहेका छन् भने जवाखोला र कमेरेभिरमा पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ।

प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित क्षेत्रको सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा बाढी, पहिरो र सडक अवरोधप्रति आवश्यक सतर्कता अपनाउन यात्रुलाई अनुरोध गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका