काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएका कैयौँको शव पहिचान गर्न समस्या भएको छ। शव गलेको, कतिपयको अनुहार चिन्न नसकिने तथा कतिपयको शरीरका केही अङ्गमात्र फेला परेकाले पहिचानमा कठिनाइ भएको हो।
यस्तो अवस्थामा सरकारले डीएनए परीक्षणमार्फत शवको पहिचान गरी परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयअन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारले बाढीमा बेपत्ता भएका व्यक्तिका बाबु, आमा, छोरा वा छोरीलाई सम्भावित डीएनए दाताका रूपमा राखेको छ।
सम्भावित आफन्तको रगतको नमुना सङ्कलन गरी प्रयोगशालामा डीएनए परीक्षण गरिनेछ। सो नमुनासँग शवबाट प्राप्त डीएनए मिलान भएपछि पहिचान खुलेका शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिने जनाइएको छ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले डीएनए परीक्षणका लागि सम्बन्धित परिवारका सदस्यले नेपाल प्रहरीलाई सम्पर्क गर्नुपर्ने जनाएको छ।
प्रयोगशालाका अनुसार हराइरहेका व्यक्तिका आमाबाबु वा छोराछोरीले डीएनए प्रोफाइलिङका लागि ताजा रगतको नमुना उपलब्ध गराउन सक्नेछन्। नमुना दिन आउने आफन्तले दुई प्रति पासपोर्ट साइजको फोटोसमेत ल्याउनुपर्ने जनाइएको छ।


