Wednesday, September 2, 2026
Homeसामाचारचितवनमा किशोरी आमा बन्ने क्रम घटेन, तीन वर्षमा करिब ३ हजार किशोरीले...

चितवनमा किशोरी आमा बन्ने क्रम घटेन, तीन वर्षमा करिब ३ हजार किशोरीले पाए सन्तान

चितवन । स्वास्थ्य, शिक्षा र सचेतनाका दृष्टिले सुगम जिल्लाका रूपमा चिनिने चितवनमा पनि किशोरी आमा बन्ने समस्या अझै अन्त्य हुन सकेको छैन। पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा २० वर्षमुनिका आमा बन्ने किशोरीको सङ्ख्या उल्लेख्य रूपमा घटेको देखिँदैन।

जनस्वास्थ्य कार्यालय चितवनका अनुसार हरेक वर्ष स्वास्थ्य संस्थामा प्रसूति सेवा लिन आउनेमध्ये ८ देखि ९ प्रतिशत २० वर्षमुनिका किशोरी रहेका छन्। कार्यालयका सूचना अधिकारी इन्द्रमणि भण्डारीका अनुसार गत आर्थिक वर्षमा जिल्लाका विभिन्न अस्पतालमा प्रसूति सेवा लिएका ११ हजार ८६८ जनामध्ये ९८५ जना किशोरी रहेका थिए।

त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा अस्पतालमा प्रसूति सेवा लिन आएका ११ हजार ८९ जनामध्ये ९५८ जना किशोरी आमा थिए। आर्थिक वर्ष २०८०/८१ मा १३ हजार ५०३ जनाले विभिन्न स्वास्थ्य संस्थामा प्रसूति सेवा लिएकामा एक हजार १८८ जना २० वर्षमुनिका किशोरी थिए।

भण्डारीका अनुसार समाजमा अझै पनि बालविवाह कायम रहनु किशोरी आमा बन्ने क्रम नघट्नुको प्रमुख कारण हो। परम्परागत सामाजिक चलन परिवर्तन गर्न नसक्नु र कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा समस्या कायम रहेको उनले बताए।

नेपालको कानुनले २० वर्ष नपुगी विवाह गर्न निषेध गरेको छ। २० वर्षभन्दा कम उमेरका किशोरीलाई किशोरी आमाका रूपमा वर्गीकरण गरिएको छ। तर कानुनी व्यवस्था भए पनि यसको प्रभाव ग्रामीण क्षेत्रमा पर्याप्त रूपमा पर्न नसक्दा किशोरी आमा बन्ने क्रम रोकिएको छैन।

सानो उमेरमै आमा बन्ने र घरमै प्रसूति गराउने चलन अझै कायम रहेकाले स्वास्थ्यका क्षेत्रमा थप चुनौती सिर्जना भएको भण्डारीले बताए।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा किशोरी आमामध्ये ६३० जनाले दक्ष प्रसूतिकर्मीबाट शिशु जन्माएका थिए। यस्तै, ३२७ जनाले दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिएका थिए भने १० जनाले अन्य स्वास्थ्यकर्मीबाट प्रसूति गराएका थिए। १८ जना किशोरीले भने घरमै प्रसूति गराएका थिए।

स्वास्थ्यका दृष्टिले कम उमेरमा आमा बन्नु जोखिमपूर्ण हुने चिकित्सकहरू बताउँछन्। भरतपुर अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुजन भुसाल न्यौपानेका अनुसार कम उमेरमा महिलाको शारीरिक बनावट पूर्ण रूपमा विकसित भइनसक्ने भएकाले गर्भावस्था र प्रसूतिका क्रममा विभिन्न जटिलता देखिन सक्छन्।

उनका अनुसार कम उमेरमा गर्भधारण गर्दा प्रसूतिसम्बन्धी जटिलताका साथै भविष्यमा गर्भधारणसँग सम्बन्धित समस्या देखिने जोखिम पनि बढ्न सक्छ। त्यस्तै, कम तौलका शिशु जन्मिने तथा शिशुको शारीरिक विकासमा असर पर्ने सम्भावना रहन्छ।

किशोरी अवस्थामा आमा बन्नुले स्वास्थ्यमा मात्र नभई उनीहरूको शिक्षा, सामाजिक अवसर र समग्र भविष्यमा समेत नकारात्मक प्रभाव पार्न सक्ने चिकित्सक न्यौपानेले बताइन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका